ताजा समाचार

नेपालीको पाईन्ट च्यात्तिने डरले मेक्सिकोमा पर्खाल लगाएन: ट्रम्प (भिडियोसहित)

काठमाडौं, २ कात्तिक । यसवर्षको सिस्नुपानी देउसी भैलो कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भिडन्त भएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा प्रज्ञा सिस्नुपानी देउसी कार्यक्रममा उनीहरु दुबैले एक अर्कालाई घोँचपेच गरे ।

मञ्चमा देउवा बोलिरहेका बेला दर्शकदीर्घाबाट ‘दिस इज फेक…दिस इज फेक… नमस्ते नेपाल भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रवेश गरे । उनले दर्शक दीर्घामा रहेका विभिन्न राजनीतिक दलका प्रमुख नेताहरुसँग हात मिलाउँदै मञ्चमा पुगे । मञ्चमा रहेका प्रधानमन्त्री देउवालाई हात मिलाएर पर हुत्यादिए ।

देउवाले देशको प्रधानमन्त्री जस्तो मान्छेलाई पर हुत्याउने यो कस्तो मान्छे भनेर ट्रम्पको आलोचना गरे । ट्रम्पले पनि देउवका लागि नेपालीमा गीत गाए–तिम्रो बाउलाई सलाम छ, तिम्रो सासुलाई राम्रो छ, स्वास्नीलाई एनजीओ छ भन्दिनु…..

ट्रम्पले नेपालीलाई सहयोग गर्न मेक्सिकोमा पर्खाल नलगाउने बताए, उनले पर्खालबाट नेपाली हाम्फाल्दा पाईन्ट च्यातिएर प्वाल पर्ने भएकोले यस्तो गर्न लागेको बताए ।

ट्रम्पले भारत भ्रमणमा यो पटक सकिन, अर्को पटक संविधान संसोधन गर्छु भनेर भन्ने नेपालको तपाई कस्तो प्रधानमन्त्री भनेर प्रश्न गरे । त्यसपछि देउवा बसेको ठाउँबाट उठेर रिसाँउदै ट्रम्पतिर अघि बढे । ट्रम्पले भने–दिस इज फेक….

देउवाले भने–तेरो बाजे फेक । यसले के भन्न खोजेको भन्दै देउवा जंगिए ।

ट्रम्पले आफूलाई नेपाल दिए पाँच बर्षमा अमेरिका जस्तो बनाईदिने बताए । यता देउवाले भने आफूलाई अमेरिका दिए, नेपाल जस्तो बनाईदिने बताँउदा हलमा हाँसोले गुञ्जियो ।

देउवा र ट्रम्पले देउसी भैलो समेत खेल्दै एक अर्कालाई छेडखान गरे । वास्तवमा उनीहरु नक्कली ट्रम्प र देउवा थिए । प्रधानमन्त्री देउवाको रुपमा थिए कलाकार सिताराम कट्टेल धुर्मुस र डोनाल्ड ट्रम्पको भेषमा थिए कलाकार मनोज गजुरेल ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org