ताजा समाचार

बालकृष्ण ढुंगेललाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार चलान

काठमाडौं, १४ कात्तिक । प्रहरीले पक्राउ गरेका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागार चलान गरिएको छ । मंगलबार बिहान सातदोवाबाटोबाट पक्राउ परेका नेता ढुंगेललाई जिल्ला अदालत काठमाडौंले फैसला कार्यान्वयनका लागि डिल्लीबजार कारागार चलान गरेको हो ।

ढुंगेललाई दोषी ठहर गरेको फैसला जिल्ला अदालत ओखलढुंगाबाट फ्याक्समार्फत मगाएर छलफलपछि काठमाडौं जिल्ला अदालतले ढुंगेललाई डिल्लीवजार कारागार पठाएको हो । उनलाई सञ्चारकर्मीसँग प्रतिक्रिया दिन पनि नदिइकन कडा सुरक्षाका बीच कारागार पठाइएको हो ।

पक्राउ परेका ढुंगेल अदालतमा रातो टिसर्ट र खैरो ज्याकेटमा उपस्थित भएका थिए। ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमा आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको थियो।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारले ढुंगेललाई माफी दिन राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाए पनि उनी फरार थिए।

उनलाई सात दिनभित्र पक्राउ गर्न २०७३ चैत ३१ गते सर्वोच्चले प्रहरी महानिरीक्षकको नाममा आदेश जारी गरेको थियो। एक हप्ताभित्र पक्राउ गर्न आदेश गरे पनि नपक्रिएको भन्दै आइजिपीमाथि अधिवक्ता दिनेश त्रिपाठीले कात्तिक ८ गते अदालतको अवहेलन मुद्दा दायर गर्नुभएको थियो । त्यसको ६ दिनपछि ढुंगेल पक्राउ परेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org