ताजा समाचार

नेपालमा पहिलो ह्यग्रिव मन्दिर निर्माणका लागि महायज्ञ शुरु

काठमाडौँ, ८ मंसिर । नेपालमै पहिलो ह्यग्रिव मन्दिर निर्माणका लागि सहयोग जुटाउन लक्ष्मी ह्यग्रिव महायज्ञ शुरु भएको छ । वाग्मती, कोलमती र चोलमती नदीको संगमस्थल कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी, थलीस्थित कोलमतेश्वर महादेव मन्दिरमा पहिलोपटक लक्ष्मी ह्यग्रिव महायज्ञ शुरु भएको हो । पहिलो ह्यग्रिव मन्दिर पनि यही स्थलमा बनाइने यज्ञ सम्पादन समितिले जनाएको छ ।

विवाह पञ्चमीका अवसरमा बिहीबारदेखि शुरु भएको महायज्ञ मंसिर १५ गतेसम्म सञ्चालन हुनेछ । २०७२ वैशाख ८ गतेदेखि मन्दिर निर्माणका लागि सहयोग जुटाउन महायज्ञ शुरु गरिएकामा वैशाख १२ गतेको भूकम्पले अवरुद्ध भएकाले यसपटक पुनः शुरु गरिएको समिति अध्यक्ष जयराम सिम्खडाले बताउनुभयो । महायज्ञको संकल्प रुरुक्षेत्र पीठाधीश स्वामी श्री जगदीश प्रपन्नाचार्यले गर्नुभएको हो । ह्यग्रिव भन्नाले घोडाको घाँटी भन्ने बुझिन्छ । १८ पुराणमध्येको श्रीमदभागवत्मा वर्णन गरिएअनुसार भगवान् विष्णुका २४ अवतारमध्ये ह्यग्रिव अवतार पनि एक हो ।

ह्यग्रिव अवतारका भगवान्को कृपाले सद्बुद्धि, विद्या, स्मरण शक्ति, निर्णय शक्ति प्राप्त हुने भएकाले महायज्ञ आयोजना गरिएको संकल्पकर्ता जगदीश प्रपन्नाचार्यले बताउनुभयो ।महायज्ञको शुरु गर्दै प्राडा ऋषिराम पोखरेलले हिमवत्खण्डमा उल्लेख भएअनुसार वाग्मतीको शिरो भागमा धेरै तीर्थस्थल रहेकाले तिनको प्रचारप्रसार गर्न सके धार्मिक पर्यटन प्रवद्र्धन हुने बताउनुभयो । महायज्ञमा यशोदादेवीले कथा वाचन गर्ने आयोजक समितिले जनाएको छ । महायज्ञमा राष्ट्र शान्ति, भूकम्प, बाढी पहिरोलगायत घटनामा परी पीडित भएका आत्माको शान्तिको समेत कामना गरिने जनाइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org