ताजा समाचार

जाजरकोटको कुशेमा दोहोरो झडप, विप्लवको धम्कीले चार घण्टामा २० मतदान

जाजरकोट, १० मंसिर । जाजरकोटको कुशेमा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबीच दोहोरो झडप भएको छ । कुशे गाउँपालिका–८, अवलरिजा मतदान केन्द्र नजिकै गएराति दोहोरो झडप हुँदा दर्जन घाईते भएका छन् ।

झडपमा रमेश रोकाय, प्रेम रोकाय, खिम भण्डारी, मदन भणडारीलगायत दर्जन घाईते भएका छन् । घाईते मध्ये बाम गठबन्धनका प्रेमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । झडपमा परी रमेशको हात र खिमको खुट भाँचिएको छ । झडपमा परेका मदन लगायत ४/५ जना वेपत्ता रहेको वडा अध्यक्ष अमर रोका मगरले बताए ।

झडपका कारण सरस्वती माध्यमिक विद्यालय अवलरिजा मतदान केन्द्रमा भोट हाल्न आउन मतदाता डराएको अध्यक्ष मगरले बताए । घाईतेको अवस्था गम्भीर रहेको उनले बताए ।

समयमा उद्धार नभए घाईतेको ज्यान जाने खतरा बढेको उनले बताए । घटनास्थलमा सुरक्षाकर्मी नपुगेको उनले बताए । १० घण्टाअघि खबर गर्दा पनि सुरक्षाकर्मी नआएको उनको आरोप छ । घटनास्थललाई समयमा नियन्त्रणमा नलिए थप झडप हुने र त्रासका कारण मतदाता भोट हाल्न पनि नआएने उनको भनाई छ ।

उक्त मतदान केन्द्रमा हालसम्म २०र२५ जना बाहेकले मतदान नगरेको उनले बताए । गएराति नै कुशे ९ को पैंक र चौराँटामा पनि दोहोरो झडप हुँदा ४ जना घाईते भएका थिए । घटनास्थल विकट भएकोले सुरक्षाकर्मी पुग्न समय लागेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।

त्यस्तै कुशे गाउँपालिका–१ स्थित तपोधेनु आधारभुत विद्यालय मतदान केन्द्र काफलपाटामा मतदान शुरु भएको ४ घण्टामा २० मत पनि खस्न सकेको छैन । विप्लव माओबादीको धम्कीका कारण मतदाता भोट हाल्न जान डराएको स्थानीय कालीबहादुर सिंहले बताए । तीन दिन अघि मतदान बहिष्कार गर्ने भन्दै विप्लवका कार्यकताले सोही मतदान केन्द्र भएको वडा अध्यक्ष गोपालबहादुर नेपालीलाई अपहरण गरेका थिए । अध्यक्ष नेपाली अझै अपहरण मुक्त भएका छैनन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org