ताजा समाचार

प्रत्यक्षको ४ र समानुपातिकको ८ दिन भित्र अन्तिम मत परिणाम सार्वजनिक गरिने

काठमाडौं, १९ मंसिर । प्रदेश र प्रतिनिधिसभाको अन्तिम मत परिणाम एक साताभित्र सार्वजनिक हुने भएको छ । मंसिर २१ गते दोस्रो चरणको निर्वाचन सम्पन्न भएलगत्तै मतगणनाको कार्य सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मत गणना सुरु भएको ८ दिनभित्र अन्तिम परिणाम सार्वजनिक गरिने आयुक्त ईश्वरी न्यौपानेले जानकारी दिए ।

प्रत्यक्ष तर्फको भने ४ दिनभित्र नै अन्तिम मत परिणाम सार्वजनिक हुने उनको भनाई छ । समानुपातिक तर्फको ८ दिनभित्र मतपरिणाम सार्वजनिक गरिनेछ । यसअघि भएको स्थानीय निर्वाचन र अहिलेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन फरक भएकाले छिटै मतपरिणाम सार्वजनिक हुने आयुक्त न्यौपानेको भनाई छ ।

प्रत्यक्षतर्फ पहिला मत गणना हुने र सम्भव भएमात्र समानुपातिक मत गणनसँगै गर्ने आयोगको तयारी छ । ‘अहिलेसम्म हामी प्रतिनिधि सभा र प्रदेशको प्रत्यक्ष गणना गर्ने अनि समानुपातिकको गणना गर्ने पक्षमा छौ’, आयुक्त न्यौपानेले भने, ‘२१ गते ५ बजेपछि पहिलो चरणमा भएको मतदानको गणना सुरू गरिने छ।’

दोस्रो चरणको मत गणना भने मतपेटिकाहरु जिल्ला निर्वाचन कार्यलयमा संकलन भएपछि सर्वदलीय बैठक राखेर सुरु गरिने उनले बताए। मत गणनालाई छिटो गर्न आवश्यक कर्मचारीको व्यवस्था मिलाएको र एक साताभित्र सबै जिल्लाको परिणाम आउने उनले दाबी गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org