ताजा समाचार

मतदान केन्द्रमा जे देखियो

मुलुकभर निर्वाचको सरगर्मी बढेको छ । चौतारा, घर, पसल जताततै निर्वाचन कै चर्चा परिचर्चा छ । पहिलो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन त्यसमाथि पनि लोकतान्त्रिक र वाम गठबन्धनले छुट्टै माहोल खडा गरेपछि रौनकता थपेको हो । स्थानीय निर्वाचनमा एकअर्काले मुन्टो बटारेर आआफ्ना पार्टीलाई भोट माग्दै हिँडेका नेताहरू प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भने कुम जोडेर उज्यालो मुख लगाउँदै हिंडेको देखिन्छ । अहिले हामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गतको दोस्रो चरणको मौन अवधिमा छौं । पहिलो चरणको निर्वाचन केही छिटपुट घटना वाहेक शान्तिपूर्ण वातावरणमै सम्पन्न भयो । त्यस्तै २१ गतेपछि मात्रै पहिलोचरणको पनि मत गणना गरिने नियम बनाइएकाले उम्मेदवारहरूको आगामी राजनीति भविष्य बन्द मतपेटिकामा सिलवन्दी गरिएको छ । दोस्रो चरणअन्र्तगतको निर्वाचनको मुखैमा मैले पहिलो चरणकै निर्वाचनको बारेमा लेख्नुको कारण के हो भने निर्वाचन केन्द्रमा कसरी, कति र कस्तो वातावरणमा निर्वाचन सम्पन्न भयो भन्ने जानकारी दिन नै हो । यसले निर्भिकताका साथ स्वतस्फूर्त रूपमा मतदाता मतदान स्थलमा उपस्थित होलान भन्ने अपेक्षा पनि राख्दछ ।
कार्यालयमा पनि निर्वाचनमा खट्ने कुराकानी हुन थालेको थियो । म एक सरकारी शिक्षिका भएका कारण हाम्रो कार्यालयबाट ४ जनाको नाम निर्वाचन कार्यालयमा पठाइएको थियो । जसमा म पनि थिएँ । निर्वाचनको पाँचदिन अगाडि आयोगमा निर्वाचन सम्पन्न गराउनको लागि खटाइएका कर्मचारीको नाम लिस्ट टाँसिएको छ भन्ने खबरले आयोगतिरै सबैको ध्यानाकर्षण भएको थियो । ६ गते नियुक्तीपत्र लिन जानुपर्ने र ७ गते कार्यस्थल पुग्नुपर्ने सूचना मैले पनि पाएँ । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं–११, भदौरेमा खटिनुपर्ने रहेछ । त्यसपछि म र साथी मन्जु मिलेर नियुक्ति लिन ६ गते निर्वाचन आयोग धादिङ पुग्यौँ । त्यहाँको अस्तव्यस्त माहोल देखेर हामीलाई दिक्क लाग्यो । नियुक्ती लिने मानिसहरूको ताँती गेट कटिसकेको थियो । ‘जस्को शक्ति उस्कै भक्ति’ भने जस्तै अव्यवस्थित माहोलले बढी हामी महिलाहरूलाई हैरान बनाएको थियो । मेरी साथीले नियुक्ती र पारिश्रमिक दिउँसो १ बजे नै लिईसक्नु भएछ । मैले चाँही ३ बजे मात्र नियुक्ति पत्र बुझेँ । साथीलाई स्यादुलमा खटाइएको थियो भने मलाई चाँही सिम्लेको जनजाग्रिती आधारभूत विद्यालयमा खटाइएको थियो । अघिल्लो दिन नियुक्तिमात्र बुझेको हुनाले म पारिश्रमिक बुझ्न निर्वाचन कार्यालय गएँ । उस्तै माहोलमा बल्लबल्ल पारिश्रमिक बुझेर अधिकृतलाई फोन गरेँ । अधिकृतसहित सम्पूर्ण टोली निर्वाचन क्षेत्रमा पुगिसकेको जानकारी पाएँ । म पनि त्यतै लागेँ । विभिन्न ठाउँबाट खटिएर आएका नौलो अनुहारसँग परिचय भयो । म खटिएको ठाउँमा दुईवटा बुथ रहेछ । म दोस्रो ‘ख’ बुथमा खटिएको थिएँ । ‘ख’ बुथको अधिकृत रामचन्द्र महतो हुनुहुन्थ्यो भने ‘क’ बुथको अधिकृत उद्धव खतिवडा हुनुहुन्थ्यो । दुई वटा बुथमा ८/८ जना गरी १६ जना कर्मचारी उक्त केन्द्रमा खटिएका थियौं । सुरक्षाको लागि १ जना सही, २ जना हवल्दार, ३ जना जवानसहित १२ जनाको म्यादी टोली खटाइएको थियो । हामी ३४ जनाको टोलीले म्यादी प्रहरीहरूले बनाएको खाना एकै ठाउँमा खायौँ । भोलपल्ट विहानदेखि हामी मतदाता परिचयपत्र बाँड्न थाल्यौं । मध्यान्ह १२ बजे अधिकृतसहितको सर्वदलीय टोलीले बैठक बसेर निर्वाचन को बिषयमा छलफल ग¥यो । पहिलो दिन भएर होला खास्सै धेरै मानिस परिचयपत्र लिन आएनन् । दुईवटै बुथबाट ४८÷४८ वटा मात्र परिचयपत्र वितरण गरियो । १० गते निर्वाचनको दिन बिहान ४ बजे नै उठियो । आफ्नो नित्यकर्म सकेर ६ बजे सबै पार्टीका प्रतिनिधिहरूको उपस्थितिमा मतपत्र खोलेको मुचुल्का उठाई ठिक ७ बजेबाट मतदान गर्ने परिपाटी मिलाइयो । बेलुकी पाँच बजेसम्म एकछिन आराम नगरी निरन्तर काम ग¥यौं । हाम्रो केन्द्रमा स्थानीय तहको निर्वाचनभन्दा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा ४२५ मतदाता बढी थिए । ‘क’ बुथमा ९२५ र ‘ख’ बुथमा ९१८ गरी जम्मा १८४३ मतदाता रहेकोमा ‘क’ बुथमा ६७५ र ‘ख’ बुथमा ६७८ गरी १३५३ (लगभग ७३ प्रतिशत ) मत खस्यो । हामी खुसी भयौं । विभिन्न जातजातिका मानिसहरूको बसोबास रहेको उक्त ठाउँका मानिसहरू सहयोगी र मिलनसार भएका कारण कुनै अराजक किसिमका कार्यहरू नभई निर्वाचन स्वच्छ र मर्यादित रूपमा सम्पन्न भयो । फेरि सबै दलका प्रतिनिधिहरूको उपस्थितिमा मुचुल्का उठाई मतपेटिका बन्द लगायतका सम्पूर्ण काम सकेर दुवै बुथको अधिकृतसहित सुरक्षाकर्मीको टोली मत पेटिका धादिङबेसीमा रहेको निर्वाचन कार्यालयमा प्रस्थान ग¥यो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org