ताजा समाचार

निर्वाचन मतगणना अपडेटः ५ स्थानबाट बाम गठबन्धन विजयी, १ स्थानबाट कांग्रेस विजयी

काठमाडौं, २२ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार पाँच स्थानमा विजयी बनेका छन् भने २२ स्थानमा अगाडि छन् । प्रतिनिधि सभातर्फ एमाले १८ र माओवादी केन्द १२ स्थानमा अगाडि छ । त्यस्तै प्रदेशतर्फ एमाले १८ र माओवादी केन्द्र १७ स्थानमा अग्रता लिएको छ ।

मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । तुलाचन ३५४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका छन् ।

यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा थकालीले जित हासिल गरेका थिए । उनी त्यसपछि मन्त्रीसमेत भएका थिए । मुस्ताङमा पहिलो चरणमा मंसिर १० गते मतदान भएको थियो भने बिहीबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । यसअघि मुस्ताङकै क प्रदेशमा एमालेका इन्द्रधारा विष्टले जित हासिल गरेका थिए ।

हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । त्यस्तै, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र खमा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन् ।

प्रतिनिधी सभा निर्वाचन तर्फ माओवादी केन्द्रले रुकुम पूर्वबाट माओवादी केन्द्रकी उम्मेदवार कमला रोका विजयी भएकी छन् । उनले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीलाई १४ हजार ४ सय ३४ मत ल्याएर पराजित गरेकी हुन् । घर्तीले ४ हजार ४ सय ६ मत पाएका थिए । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् ।

रुकुमबाट यसअघि माओवादीकातर्फबाट समानुपातिक सभासद् रहेकी कमला रोका माओवादी राज्य समिति सदस्य हुन् । २०३२ सालमा रुकुमको प्वाँङमा जन्मिएकी रोका २०४६ सालदेखि राजनीतिमा लागेकी हुन् ।

मनाङबाट कांग्रेसको खाता खुल्यो
मनाङको प्रदेशतर्फ क मा कांग्रेस उम्मेदवार चिन्तबहादुर घले विजयी भएका छन् । उनले एमालेका धोर्जे डण्डुल गुरुङलाई १ सय २ मतअन्तरले पराजित गरेका छन् । बिजयी घलेले ९ सय ९८ मत प्राप्त गरेका छन् । एमालेका धोर्जे डण्डुल गुरुङले ८ सय ९६ मत पाएका छन् । उता ख मा भने स्वतन्त्र उम्मेदवार राजिव गुरुङ विजयी बनेका छन् । गुरुङले १४१० मत ल्याउदा उनका प्रतिद्धन्दी कांग्रेसका कर्म गुरुङले १०२० मत पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org