ताजा समाचार

शहरी सुन्दरताको दयनीय अवस्था

विभिन्न स्रोतहरूले नेपालको राजधानी ‘काठमाडौँ’ एसियाको पहिलो र विश्वको तेस्रो प्रदूषित सहर भनेर पुष्टि गरेका छन् । नाङ्गो आँखाले हेर्दा यहाँको वायुमण्डल निकै धमिल देखिन्छ । मानिसको आँखा पिरो हुने, चिलाउने, घाँटी खसखसाउने र दम बढ्नेजस्ता समस्या भोगिरहेका छन् । काठमाडौंमा अधिकांशले मुखमा मास्क लगाएर हिंडिरहेका देखिन्छन् । आफ्नै सहर आफ्नै लागि गनाएको छ । आफू वरिपरिको वातावरण हानिकारक बनेको छ । त्यसैगरी आफ्नै माटो विष बनिरहेछ । सडक किनारमा बिजुलीका तार बेतमासले झुण्डिरहेका छन् । साना–साना कुराले शहरको सौन्दर्यलाई कति कुरूप बनाउँछ भन्ने नेपाल विद्युत् प्राधिकरणलाई थाहा नभएको पनि होइन किनभने तालिम र प्रशिक्षण भ्रमणको सिलसिलामा विदेश घुमेर तिनीहरूले राज्यको करोडौं रकम स्वाहा पारेका छन् तर खै किन होला काठमाडौंलाई सुन्दर बनाउन ती लाग्दैनन् । कतिपय स्थानमा झुण्डिएका तारहरूले पैदलयात्रीको टाउको छुनै लागेको देखिन्छ । करेन्ट प्रवाह हुने यस्ता तारमा ठोकिएर दुर्घटना भएको समाचार पनि सञ्चार माध्यममा आइरहेको पढ्न र हेर्न पाइन्छ । तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले सुरु गरेको काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरका सडक विस्तारको काम अझै सकिएको छैन् । चौडा पार्ने क्रम जारी छ । यद्यपि, मुख्य सडकको निर्माण तथा विस्तार गर्ने जिम्मेवारी लिएका निर्माण कम्पनी ठेकेदारले समयमा नै निर्माण कार्य पूरा गर्न नसकेको स्पष्ट देख्न सकिन्छ ।अर्कोतर्फ मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने काम धमाधम भइरहेको छ । जथाभावी सडक खन्ने र पाइप बिछ्याइसकेपछि सडकको पुनर्निर्माण नगर्ने र त्यसै छाड्ने प्रवृत्तिले काठमाडौं उपत्यकाको सडक खाल्डाखुल्डी हुने र धुलाम्मे बन्नेक्रम बढ्दो छ । यसकारण सडक छेउमा बस्ने जोकोही पनि धुलोबाट प्रभावित बनेका छन् । सडक यात्रु त यसको प्रत्यक्ष मारमा परेका छन् । जाडोयाममा घाम ताप्न सडकछेउमा बस्दा सवारीसाधनले उडाएको धुलो, धुवाँले छिनमै धुलाम्मे भएको देखिन्छ । अझ दैनिक रूपमा सडक प्रयोग गर्ने सवारी चालक, सहचालक र ट्राफिक प्रहरीको पीडा अझ बढी छ । उनीहरूलाई श्वासप्रश्वासको समस्या देखा पर्न थालेको छ । पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे, जताततै फोहोर नै फोहोर, कङ्क्रिटको जङ्गल काठमाडौंको परिचय बनेको छ । राजधानीमा मानिसहरू बाध्यता भनौं या रहरले धन्न बसेका छन् । अनियन्त्रित संख्यामा सवारीसाधन हुलेर जथाभावी बाटा बनाएर उपत्यकालाई विरूप बनाइएको छ । कुनै अग्लो ठाउँमा गएर उपत्यकालाई नियाल्यौँ भने खाली ठाउँ नै देख्न पाइन्न केवल कंक्रिटको जंगलजस्तो भयावह दृश्य देख्न पाइन्छ । यस किसिमको अवस्था कहिले फेरिएला ?

सवारीसाधनमा यात्रा गर्दा खाल्डाखुल्डीका कारण वृद्धवृद्धा, एम्बुलेन्समा रहेका बिरामीलाई बढी असर परेको देखिन्छ । सर्वसाधारणले यस किसिमको समस्या वर्षौंदेखि भोग्दै आएका छन् । यसप्रतिको जिम्मेवारी बहन गरेका सरकारका उच्च अधिकारीहरू शक्तिकेन्द्रको चाकडी गर्न व्यस्त छन् । उनीहरू सडकको दुर्दशाप्रति कुनै जिम्मेवारीबोध नगरेको जस्तो देखिन्छ । काठमाडौंको सडकको अवस्थामा सुधार गर्न तत्कालिन मुख्य सचिव डा.सोमलाल सुवेदीले सम्बन्धित मन्त्रालयका सचिव र महानिर्देशकलाई निर्देशन दिए पनि अहिलेसम्म सडकको अवस्थामा कुनै सुधार भएको देखिन्न । मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने क्रममा खनिएको सडकमा पाइप बिछ्याउने कार्य सम्पन्न भएपछि सम्बन्धित निकायले कालोपत्रे नगर्दा सडकमा धुलो, धुवाँ र प्रदूषण बढेको मात्र छैन, खाल्डाखुल्डीले गर्दा सडक दुर्घटना बढाएको छ र ट्राफिक जामलाई पनि वृद्धि गरेको देख्न सकिन्छ ।
त्यस्तै कर्मचारीहरू अवकाश भएपछि पनि चर्चामा आउनमात्रै भए पनि झाडु समातेर बागमती नदी सफा गर्न निस्कन्छन् । उदाहरणको लागि, पूर्वमुख्य सचिव लीलामणि पौड्याल, पूर्वप्रधानमन्त्री डा. भट्टराई बागमती नदी सरसफाइ अभियानमा लागेका थिए । यस्तो अभियान यतिऔं हप्तामा भन्ने खबखर मिडियामा आइरहेकै हुन्छ तर गएर हे¥यो भने नदीको अवस्था जस्ताको तस्तै देखिन्छ । यस्ता अभियानले मात्रात्मक रूपमा मात्र सुधार हुन सकेको पाइन्छ । जनता नै मानसिक रूपले सचेत र जागरूक नभएसम्म यस्ता अभियान हप्तौं चलाउँदा पनि सुधार नआउने रहेछ । राज्यका सम्पूर्ण संयन्त्रहरू नै जिम्मेवारीबोधका साथ नलागेसम्म सडक सुधार हुने स्थिति देखिन्न । यसको लागि राज्यस्तरबाटै दीर्घकालीन सोचका साथ नीति बन्न आवश्यक छ । यसरी बनाइएका नीतिहरू इमानदारीपूर्वक कार्यान्वयन गर्न जरूरी छ । मुख्य राजमार्ग र सहरी क्षेत्रमा सार्वजनिक यातायात सञ्चालन हुने सडक सञ्जाल निर्माण गर्दा सडकको दुईतर्फी ढल, खानेपानीको पाइप, विद्युत् लाइन, टेलिफोन लाइन र केवल लाइनको पूर्वाधार निर्माण गरी कम्तीमा ३०र४० वर्ष सडक नबिग्रने गरी १५ इञ्च बाक्लो पिच बनाउने नीति र मापदण्ड सरकारले बनाउनुपर्दछ अनिमात्रै सहरी क्षेत्रका सडक बलियो हुनसक्छ ।

अहिले कालोपत्र गरिएका सडकहरू वर्ष दिन पनि नटिक्ने बनिरहेका छन् । ४ इञ्च बाक्लो कालोपत्र गर्ने नीति भए पनि अहिले बनिरहेका सडकमा २ इञ्च पनि कालोपत्र नगरी ठेकेदार र डिभिजन सडक कार्यालयका इञ्जिनियरहरूको मिलेमतोमा गुणस्तरहीन निर्माण कार्य गरी भ्रष्टाचार हुँदै आएको छ । राज्यका निकायहरूले नियमन, अनुगमन नगर्ने र गरे पनि सेटिङ मिलाएर सदर गर्ने प्रचलन बढेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि सडक निर्माणमा भइरहेको गुणस्तरहीन कार्य र भ्रष्टाचारको छानबिन गरी दोषीलाई कारबाही चलाएको पाइँदैन । डा. भट्टराई नेतृत्वको नयाँ शक्तिको ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौं’ भने पनि यो क्षणिक चर्चाका लागि गरिएका प्रचारवादी काममात्र देखियो । यो दलले पनि काठमाडौंको धुलो, धुवाँ र प्रदूषण नियन्त्रण गर्न तथा सडकको दुरवस्थामा सुधार गर्न कुनै ठोस नीति, कार्यक्रम, योजना र अभियान ल्याउन सकेको छैन । खाली चुनावी नाराको रूपमा यस्ता नारा अघि सार्ने गरिएको छ । सरकारी निकायहरू नै जिम्मेवार नबनेसम्म कुनै एक व्यक्ति वा समूहको इच्छा, चाहना र भावनाबाट नेपालमा परिवर्तन सम्भव देखिन्न । नगरपालिका, महानगरपालिका, उपमहानगरपालिका र डिभिजन सडक कार्यालयका कर्मचारी दिनभरि घाम तापेर बस्ने, कुनै नीति, योजनाहरू निर्माण नगर्ने हो भने एकजना मानिस झाडु बोकेर सडकमा निस्किँदैमा सहर सफा हुँदैन ।
काठमाडौंलाई कस्तो बनाउने भनेर विगत लामो समयदेखि विभिन्न तहमा बहस र छलफल हुँदै आइरहेको छ । विज्ञले आफ्नो धारणा पनि बेलाबेलामा राखी नै रहेका छन् तर, काठमाडौं जस्ताको तस्तै छ । देशको राजधानी भएकोले पक्कै पनि काठमाडौंसँग देशवासीको भावना, सम्बन्ध र परिचय छ । तर, काठमाडौंले जुन मात्रामा स्वदेशी, विदेशीहरूको मन जित्नुपर्ने थियो, त्यो जित्न सकेको छैन । काठमाडौं भनेकै अव्यवस्थित, प्रदूषित, धुलो, धुवाँ, फोहोरमैलाको सहर भन्ने अन्तराष्ट्रिय जगतमा सन्देश गएको छ । काठमाडौंलाई मेट्रोसिटी, ठूला सार्वजनिक सवारी, साइकल सीटीको रूपमा विकास गर्न सकियो भने सडकमा सवारीको चाप स्वतः घट्छ र वायु प्रदूषण पनि न्यूनीकरण हुन जान्छ ।

 

काठमाडौंको सडकलाई व्यवस्थित गर्न फुटपाथका र पोके व्यापारीलाई मुख्य सडकपेटी र आकासे पुलबाट तत्काल हटाउनुपर्दछ । अहिले भएको के छ भने सडकका किनारहरू, पुलपुलेसा, मन्दिर, पेटी, गुम्बा, मैदान, जहाा पायो, त्यहीँ एउटा च्यादर ओछ्यायो, नाङ्ले तथा फुटपाथे पसल थाप्यो । काठमाडौं सहरलाई कुरूप बनाउन यिनीहरूको ठूलो भूमिका छ । सभ्य र विकसित देशहरूमा जहाँ गए पनि कसैले यस्तो किसिमको अनुशासनहीन काम गरिरहेका हुँदैनन् । यिनै कारण पनि विदेशीको अगाडि हामी लज्जित हुनुपरेको छ । आकाशे पुल पैदलयात्रीका लागि बनाइएको हो कि व्यापारीलाई पसल फिंजाउन बनाइएको हो ? यसको सरकार र महानगरपालिकाले जवाफ दिनुपर्दछ । फुटपाथे व्यापार सञ्चालन गर्न दिएर महानगरपालिकाका सुरक्षाकर्मीले अतिरिक्त कमाइ गर्ने थलो बनाइरहेका छन् । उनीहरूले यस्ता व्यापारीलाई कडाभन्दा कडा कारबाही गरेर व्यापार हटाउन सकेका छैनन् । फुटपाथे व्यापारलाई कमाइ खाने मेलो बनाएका छन् ।

अर्कोतर्फ सडकलाई हरियाली बनाउन सडक किनारामा लगाएका फूल बिरूवा रोपे पनि मलजलको अभावका कारण मर्न थालेका छन् । सडकको धुलो उडेर पातमा बस्नाले बिरूवा कुरूप देखिन्छन् । अझ, चौपाया अलपत्र छाड्नाले फूल–बिरूवा खाइदिने र पैदलयात्रीले समेत फूलबिरूवासमेत भाँच्ने गरेका छन् । उपत्यकालाई हरियाली बनाउन सरकारले सक्दो सहयोग गरे पनि निरन्तर खबरदारी र अनुगमन नगर्दा उपत्यकाको वातावरण झन् प्रदूषित बन्दै गइरहेको छ । फोहोरमैलालाई सही सदुपयोग गरी फोहोरबाट मोहोर कमाउन सकिन्छ । सड्ने फोहोरलाई घरभित्रै सडाएर कम्पोस्ट मल बनाउने र नकुहिने फोहोरमैला मात्र निश्चित ठाउँमा जम्मा गरेर बिसर्जन गर्न सकिए काठमाडौंको फोहोरमैलाको समुचित व्यवस्थापन गर्न सकिनेछ । अहिले जहाँतहीँ फोहोर फ्याँक्ने गरेको देखिन्छ । यसले नगरको सुन्दरता र प्रदूषण बिगारेको छ । फोहोर जहाँ पायो त्यहीं नफ्याँकी तोकिएको ठाउँमा मात्र फ्याँक्ने गर्नुपर्दछ । यसो गरिएमा मात्र चिल्लो सडक, हरियाली स्वच्छ वातावरण बनाउन सकिन्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org