ताजा समाचार

यस्तो छ दुई चुनावमा ५ पार्टीको मत, दुई महिनामै माओवादीको ३ लाख ४ हजार मत हरायो

काठमाडौं, २ पुस । प्रदेश र प्रतिनिधिसभा चुनावमा नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा पाएको भन्दा कम मत पाएको छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रले स्थानीय तह निर्वाचन भन्दा तीन लाख ४ हजार ३७ भोट कम पाएको छ । एमाले, कांग्रेस, राजपा नेपाल र संघीय समाजबादी फोरम नेपालले स्थानीय तह निर्वाचनको भन्दा बढी नै पाएपनि माओवादीले भने ३ लाख ४ हजार ३७ मत कम पाएको हो ।

गत बैशाख, असार र असोजमा भएको स्थानीय तह निर्वाचनमा सवैभन्दा ठुलो र धेरै स्थान जितेको एमालेले जम्मा ३१ लाख २८ हजार ३६३ मत ल्याएकोमा अहिलेको निर्वाचनमा ३१ लाख ७३ हजार ४९४ मत पाएको छ । उसले अघिल्लो निर्वाचनमा भन्दा ४५ हजार ५८३ मत बढी पाएको छ । त्यस्तै कांग्रेसले स्थानीय तह निर्वाचनमा ३१ लाख १५ हजार ६६४ मत ल्याएकोमा यो निर्वाचनमा ३१ लाख २८ हजार ३८९ मत पाएको छ । अघिल्लो र यो निर्वाचनमा कांग्रेसले १२ हजार ६ सय २५ मत बढि पाएको छ ।

माओवादी केन्द्रको भने स्थानीय तहमा पाएको मत भन्दा यो निर्वाचनमा ३ लाख ४ हजार ३७ मत कम आएको छ । उसले स्थानीय निर्वाचनमा १६ लाख ७ हजार ७५८ मत पाएकोमा यो निर्वाचनमा १३ लाख ३ हजार ७२१ मत मात्र पाएको छ ।

त्यस्तै राजपा नेपालले पनि स्थानीय चुनावमा भन्दा यो चुनावमा २ लाख बढि मत पाएको छ । राजपाले स्थानीय चुनावमा २ लाख ७० हजार ३३८ मत पाएकोमा यो निर्वाचनमा ४ लाख ७२ हजार २५४ मत पाएको छ । राजपाले स्थानीयमा भन्दा २ लाख १हजार ९१६ मत बढि छ ।

अर्को दल संघीय समाजवादी फोरम नेपालले पनि स्थानीय निर्वाचनमा भन्दा अहिलेको निर्वाचनमा बढि भोट ल्याएको छ । फोरमले स्थानीय निर्वाचनमा ४ लाख २४ हजार ५१० भोट पाएकोमा यो निर्वाचनमा ४ लाख ७० हजार २०१ भोट पाएको छ । स्थानीय भन्दा फोरमले अहिले ४५ हजार ६९१ भोट बढि ल्याएको छ ।

माओवादीको मत निरन्तर घट्दैः


सशस्त्र युद्ध विसाएर निर्वाचनमा होमिएको नेकपा माओवदी पहिलो संविधानसभाको सबै भन्दा ठूलो पार्टी बनेको थियो। कांग्रेस र एमालेका कतिपय किल्लाहरुमा उसले ‘क्लिनस्वीप’ नै गरेको थियो। १२ वर्ष जनयुद्ध गरेर आएको माओवादी केन्द्र त्यससपछिका चुनावमा भने निरन्तर पछि पर्दै गएको छ।

२०६४ सालको पहिलो संविधानसभामा यो पार्टीले समानुपातिकतर्फ २९ दशमलव ८५ प्रतिशत ल्याएको थियो। अर्थात समानुपातिक तर्फ माओवादीले ३१ लाख ४४ हजार २ सय ४ मत पाएको थियो। समानुपातिक तर्फ आएको मतका आधारमा उसले १ सय सिट पाएको थियो। त्योबेला प्रत्यक्ष र समानुपातिक दुवैतर्फ माओवादीकै मत ज्यादा आएको थियो। प्रत्यक्षमा उसले १ सय २० सिट जितेको यो जम्मा मतको ३० दशमलव ५२ प्रतिशत हो।

दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी पहिलो पार्टीबाट एकैचोटी तेस्रोमा झरेको थियो। त्यो बेला उसले समानुपातिक तर्फ १४ लाख २९ हजार ७ सय २६ मत पायो। यो झण्डै १७ प्रतिशत हो। समानुपातिक मतका आधारमा उसले ५४ मत पायो। प्रत्यक्षमा उसले २६ सिट जितेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org