ताजा समाचार

दलीय हैसियतमा चुनाव लडेका बाबुराम, राजेन्द्र, दुर्गा र प्रेम सुवाल बने स्वतन्त्र सांसद

काठमाडौं, ३ पुस । निर्वाचन यस्तो अस्त्र हो शक्तिमा पुगेकालाई भूईमा र भईमा रहेकालाई शक्तिमा पुर्‍याईदिन्छ । निर्वाचनमा जनमतका साथ विजयी भएका उम्मेदवारले आफुलाई शक्तिशाली ठान्दछन्, भने पराजितले कमजोर ठान्दछन् । यो सबै कुरा जनताको हातमा हो ।

मंसिर १० र २१ गते सम्पन्न प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि केही नेताहरुलाई यस्तै भएको छ । अाफुलाई शक्तिशाली  मान्नेहरुलाई जनताले उनीहरुको हैसियत देखाईदिएका छन् । आफ्नाे पार्टीलाई एकदमै ‘पावरफुल’ मान्ने नेताहरु यतिबेला स्वतन्त्र सांसद्को रुपमा परिचित हुनुपरेको छ ।

यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पाँचजना स्वतन्त्र सांसद् भएका छन् । दलीय हैसियतमा निर्वाचन लडेका चार पार्टीका सांसदको हैसियत अब ‘स्वतन्त्र’ भएको हो । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देन, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल स्वतन्त्र हैसियतका सांसद हुने भएका छन् । हुम्लाबाट जितेका छक्कबहादुर लामा स्वतन्त्र सांसद हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराई नै स्वतन्त्र हैसियतमाः

आँखा चुनाव चिन्ह आँखा लिएर गोरखा २ बाट निर्वाचन लडेका भट्टराई माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई हराउँदै निर्वाचित भएका थिए । तर भट्टराईको दल नयाँ शक्तिले समानुपातिकतर्फ थ्रेस होल्ड समेत कटाउन सकेन । नयाँ शक्तिले ८१ हजार ८३७ मत अर्थात ०.८५ प्रतिशत मत ल्यायो ।

जनताले राप्रपाको पनि हैसियत देखाएः

यस्तै, झापा ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई हराउँदै सांसद बनेका राजेन्द्र लिङ्देनको दल राप्रपाले पनि ३ प्रतिशत थ्रेस होल्ड कटाउन सकेन । जसका कारण लिङ्देनको हैसियत स्वतन्त्र भएको छ । उनको दलले समानुपातिकतर्फ एक लाख ९६ हजार ७८२ मत अर्थात २.०६ प्रतिशत मात्र ल्याएको छ ।

जनमोर्चाको पनि यस्तैः

प्युठान १ बाट निर्वाचित भएकी दुर्गा पौडेलको दल जनमोर्चाले पनि थ्रेसहोल्ड कटाउन सकेन । जनमोर्चाले ६२ हजार १३३ मत अर्थात ०.६५ प्रतिशत ल्याएको छ । उनले कांग्रेसका डा. गोविन्दराज पोखरेललाई पराजित गरेकी हुन् । जनमोर्चा महासचिव मोहनविक्रम सिंहकी पत्नी समेत रहेकी दुर्गा संसदमा अब स्वतन्त्र सांसद्को हैसियतले जानेछिन् ।

नेमकिपाः

भक्तपुर १ बाट निर्वाचित भएका प्रेम सुवालको दल नेमकिपाले थ्रेस होल्ड कटाउन नसक्दा उनको हैसियत पनि स्वतन्त्र भएको छ । निर्वाचन आयोगले नेमकिपाको समानुपातिकतर्फको मत अन्यमा राखेको छ । खसेको एक करोड पाँच लाख ८७ हजार ५२१ मतमध्ये ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ । जसको ३ प्रतिशत दुई लाख ८६ हजार ३४३ मत ल्याउन आवश्यक हुन्छ ।

स्वतन्त्र सांसद्ले संसद् सचिवालबाट केही पनि सुविधा पाउँदैनन्ः
स्वतन्त्र हैसियत बनेका सांसदले संसद् सचिवालयबाट कुनै सेवा सुविधा पाउँदैन । न त छुट्टै कार्यालय नै पाउँछ । उनीहरूका लागि प्रतिनिधिसभाको अन्तिमतिर सिट छुट्याइएको छ । अन्य दलका सांसदले बोलिसकेपछि मात्र स्वतन्त्र सांसदले बोल्ने मौका पाउँछन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सिट जितेको र समानुपातिक तर्फ कुल खसेको मत मध्ये कुल सदर मतको तीन प्रतिशत प्राप्त गर्ने दलले राष्ट्रिय दलको मान्यता पाउने राजनीतिक दलसम्बन्धी ऐनमा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org