ताजा समाचार

विभिन्न हल्ला चलिरहेका बेला ओली र प्रचण्डबीच टेलिफोन वार्ता, के के भयो कुराकानी ?

काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच टेलिफोन कुराकानी भएको छ । दुई पार्टी एकताका लागि एकता संयोजन समितिको बैठक बस्न नसकिरहेको बेला ओली र प्रचण्डबीच आईतबार बिहान टेलिफोन कुराकानी भएको हो ।

कुराकानीका क्रममा सरकार गठन, पार्टी एकतालगायतका विषयमा छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ । दुई अध्यक्षबीचको कुराकानीपछि पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बिहान बस्ने तय भएको छ । यसअघि शनिवार एकता संयोजन समिति बैठक बस्ने भनिएको भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

टेलिफोन कुराकानीका क्रममा प्रचण्डले प्रतिपक्षलाई पनि सम्हालेर लिएर जानुपर्ने जिम्मेवारी भएको बताएका छन् । टेलिफोनका क्रममा प्रचण्डले राष्ट्रियसभा गठनमा आफ्नो फरक मत समेत दर्ज गराएका छन् । एमालेले अध्यादेशमा प्रस्तावित एकलसंक्रमणीय मत प्रणाली अस्वीकार्य भएको अडान लिँदै आएको छ । ओलीले यसलाई कांग्रेसको सत्ता लम्ब्याउने खेलका रुपमा लिएका छन् । तर, प्रचण्डले कांंग्रेसविहीन राष्ट्रियसभा बनाउन नहुने आफ्नो धारणा ओलीलाई सुनाएका छन् ।

‘कांग्रेसका साथीहरुको समस्या के भन्ने वामपन्थीहरुले बुझिदिनुपर्ने देखेको छु मैले’, प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा भने, ‘बहुमतीयमा गयो भने कांग्रेसको एउटा पनि नआउने भयो, राष्ट्रियसभामा एकजना पनि नआउनु वामपन्थीका लागि पनि धेरै खुसीको कुरा हुँदैन ।’

प्रचण्डले अघि थपे, ‘यो प्रणालीभित्र कमसेकम प्रतिपक्षका २र४ जना हुँदा बहस छलफलमा जो जीवन्तता आउँछ । त्यो उपाय खोजी गर्नेतिर ध्यान दिँदा राम्रो हुने हो कि भनेर मैले ओलीजीलाई भनेको छु, सोचौं है सोचौं ।’

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org