ताजा समाचार

आज मेरी क्रिसमस डे, विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौं, १० पुस । आज इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस । हरेक वर्ष २५ डिसेम्बरमा भगवान जिसस क्राइस्टको जन्मदिनलाई क्रिसमसका रुपमा मनाइने गरिन्छ । विशेषगरी क्रिस्चियन धर्म मान्नेहरुका लागि यो पर्वको धेरै महत्व छ ।नेपालमा पनि यो पर्व पछिल्ला वर्षहरुमा विशेष महत्वका साथ मनाउन थालिएको छ ।

अधिकांश पश्चिमी राष्ट्र लगायत पूर्वी राष्ट्रहरुमा समेत क्रिसमसलाई धुमधामसँग मनाइन्छ । जिसस जन्मिएको दिन खुसीको दिन भएकाले पनि यस दिन मानिसहरु धेरै उत्साहपूर्वक क्रिस्मस मनाउने गर्छन् । पश्चिमी मुलुकमा क्रिस्मस मनाउन दुई देखि तीन हप्तासम्म बिदा दिइएको हुन्छ । जिसस क्राइस्टको वास्तविक जन्मदिनबारे कसैलाई थाहा नभएकाले लामो समयदेखि वेस्टर्न क्रिस्चियन चर्चले डिसेम्बरको अन्तिमतिरको समयलाई नै क्रिस्मस मनाउने दिन तय गरेको थियो ।

यस दिनमा आफ्ना नजिकका साथीभाइ र आफन्तजनहरुमाझ उपहार आदानप्रदान गर्ने गरिन्छ । यसका साथै सबैले क्रिस्मसको रुखलाई घरघरमा बत्तीले सजाउने गर्छन् । यसबेला सबै आफन्तजन र नजिकका साथीभाइहरु भेला भएर मीठामीठा परिकारहरु पकाएर खाने र रमाइलो गर्ने गरिन्छ । सबै देशहरुमा भिन्दाभिन्दै किसिमले क्रिस्मस मनाउने चलन छ । आ–आफ्नो परम्परा र क्षेत्र अनुसार क्रिस्मस मनाउने तरिका छुट्टाछुट्टै रहेको पाइन्छ ।

यसका साथै ‘स्यान्टा क्लस’ का नामले चिनिने हँसिलो अनुहार भएका रातो कोट, रातै टोपी, ठूलो कालो बुट र सेतो दाह्रीमा आउने एक विशिष्ट व्यक्तित्वलाई बालबालिकाहरु विशेष मन पराउने गर्छन् ।

सबैको घरघर गएर मनपर्दो उपहार बाँड्ने भएकाले पनि बच्चाहरुका लागि क्रिस्मसमा स्यान्टाको धेरै महत्व छ । विशेषगरी पश्चिमी मुलुकमा यस्तो चलन धेरै चर्चित छ । ज्ञानी बालबालिकाको घरमा मात्र स्यान्टा उपहार दिन आउँछन् भन्ने स साना बालबालिकाको विश्वास रहेको छ । यसरी क्रिस्मसको समयमा बालबालिकाहरुलाई खुसी बनाउन काल्पनिक स्यान्टा क्लसको नाम दिइएको बताइन्छ ।

आजभोलि क्रिस्मस मनाउने घरका प्रायःजसो पुरुषहरु स्यान्टाको भेष धारण गरेर बालबालिकाहरुलाई उपहार बाँडेर खुसी बनाउने गरेको देखिन्छ । यसबाहेक स्यान्टालाई व्यापारीहरुले पनि क्रिस्मसका बेला धेरै प्रयोगमा ल्याउने गरेका छन् । क्रिस्मसका समयमा सबैतिर स्यान्टाको तस्बिर देख्न पाइन्छ । नेपालमा पहिले क्रिस्मस मनाउनेहरु धेरै कम भेटिन्थे तर आजभोलि चाहिँ प्रायःजसो मानिसहरु क्रिस्टियन धर्म नमान्ने भएतापनि क्रिस्मस मनाएर रमाइलो गर्ने गरेको पाइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org