ताजा समाचार

पत्रकारलाई पत्र काटेपछि प्रेस काउन्सिलले काठमाडौंका प्रहरी प्रमुखलाई बोलायो

काठमाडौं, २४ पुस । प्रेस काउन्सिल नेपालले महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकलाई पत्रकारसँग समाचारको स्रोत नमाग्न सुझाव दिएको छ । प्रेस काउन्सिलले धानुकलाई आफ्नो कार्यालयमा बोलाएर पत्रकारसँग समाचारको स्रोत नमाग्न सुझाव दिएको हो ।

अबदेखि पत्रकारलाई समाचारको स्रोत माग्दै प्रत्यक्ष सम्पर्क नगर्न र उनीहरुलाई पत्र नकाट्न प्रेस काउन्सिलले एसएसपी धानुकलाई भनेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । पत्रकारमाथि त्यस्तो कुनै जानकारी लिनु परेमा प्रेस काउन्सिलमार्फत गर्न काउन्सिलले एसएसपी धानुकलाई भनेको श्रेष्ठले जानकारी दिए ।

सुशासन अनलाइनलगायतका केही अनलाइनमा नवराज सिलवालका विषयमा छापिएको समाचारबारे प्रहरीले पत्र काटेपछि प्रेस काउन्सिलले सोमबार काठमाडौंमा प्रहरी प्रमुख धानुकलाई बोलाएर यसबारे छलफल गरेको हो ।

सोमबार बिहान प्रेस काउन्सिलको आयोजनामा भएको छलफलमा एसएसपी धानुकका साथमा अनुसन्धान अधिकृत डीएसपी बेलबहादुर पाण्डेसमेत उपस्थित थिए । विभिन्न अनलाइन पत्रिकाका सम्पादकहरुलाई समाचारको स्रोत माग्दै लेखिएको पत्रमा डीएसपी पाण्डेको हस्ताक्षर थियो ।

प्रहरी अधिकारीहरुसँगको छलफलमा प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सूचना विभागका महानिर्देशक वीरबहादुृर राई, नेपाल बार एशोसिएसनका कोषाध्यक्ष ज्ञानरत्न शाक्य लगायतको उपस्थिति थियो ।

पूर्वडीआइजी नवराज सिलवालले आफ्नो कार्यसम्पादन मूल्यांकनसम्बन्धी विवरण अनलाइनबाटै प्राप्त गरेको बताएको हुनाले ती अनलाइनसँग स्रोत मागिएको छलफलका क्रममा प्रहरी अधिकारीहरुले जवाफ दिए ।

गोप्यरुपमा रहनुपर्ने कार्यसम्पादन मूल्यांकनको सक्कलप्रति नै आफूहरुसँग छ भनेर अनलाइनहरुले लेखेपछि उनीहरुमाथि अनुसन्धान गर्नुपरेको प्रहरी अधिकारीले छलफलमा बताएका थिए । साथै पाटन उच्च अदालतले समेत त्यसरी पत्र काटेर समाचारको स्रोत माग्न सकिने बाटो खोलेको प्रहरी अधिकारीले जिकिर गरेका थिए ।

प्रहरी अधिकारीले गरेको जिकिरको जवाफमा प्रेस काउन्सिलका पदाधिकारी एवं नेपाल बारका प्रतिनिधिले कुनै पनि हालतमा पत्रकारसँग समाचारको स्रोत मागेर पत्र काट्न वा उनीहरुलाई हाजिर हुन बोलाउन नमिल्ने सुझाव दिए ।

‘प्रहरीले यसरी समाचारको स्रोत मागेर पत्र लेख्नु संविधानको धारा १९ विपरीत हुन्छ,’ छलफलपछि प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भने, ‘प्रहरीको यस्तो कार्य संविधान र प्रेस कानूनको समेत विपरीत हुने भएकाले हामीले प्रहरीलाई यस्तो कार्य नगर्न भन्यौं ।’

अबदेखि अनलाइन पत्रकारहरुलाई त्यसरी पत्र नकाट्ने र आवश्यक परेमा प्रेस काउन्सिलमार्फत् सम्पर्क गर्ने विषयमा प्रहरी अधिकारीहरु सहमत भएको श्रेष्ठले जानकारी दिए ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org