ताजा समाचार

राष्ट्रियसभामा आठ पदका लागि एमालेबाट ५५ सिफारिस

लहान । नेकपा एमाले २ नम्बर प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि ५५ जनाको नाम सिफारिस गरेको छ ।

एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नम्ब २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए । सिरहाबाट रामचन्द्र यादव, जया घिमिरेसहित १३, सप्तरीबाट सुमनराज प्याकुरेल, धनुषाबाट रत्नेश्वर गोइत, यदुवंश झा, भोला साहसहित १२, पर्साबाट प्रभु हजरा र निर्मला देवकोटासहित ११ को नाम सिफारिस गर्ने निर्णय भएको छ ।

यसैगरी रौतहटबाट रोहित पासवान, बिना साहसहित पाँच, सर्लाहीबाट कमलादेवी महतो, रेवती पन्त, सुरेन्द्र लामासहित पाँच, बाराबाट दिनेशकुमार राय, पुरुषोत्तम पौडेलसहित चार र महोत्तरीबाट रामदयाल मण्डलसहित चारको नाम सिफारिस भएको छ । सिफारिस गरिएकाबाट एमालेले छनोट गरी एमाले र माओवादी केन्द्रको कार्यदल बैठकले अन्तिम रुप दिने बताइएको छ ।

हरेक प्रदेशबाट तीन महिला, तीन अन्य, एक दलित र अपांग वा अल्पसंख्यकबाट एक जना निर्वाचित हुनेछन् । यसैगरी राष्ट्रियसभा निर्वाचनको तयारीका लागि माओवादीसँग समन्वय गरी प्रदेश नम्बर २ मा मतदाताबीच भेला राखिने निर्णय भएको एमाले प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिए ।

सर्लाही, धनुषा र महोत्तरीका मतदाताको भेला माघ ११ गते जनकपुर, बारा, पर्सा र रौतहटको माघ १२ गते बारा तथा सप्तरी र सिरहाको माघ १३ गते लहानमा भेला गरिने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org