ताजा समाचार

चरा गणनासम्पन्नः छ प्रजातिका चरा घटे

चितवन । चितवनको सिमसार क्षेत्रमा हालै गरिएको चरा गणनामा ६ प्रजातिका चरा घटेको पाइएको छ । पानीमा आश्रित चराको अवस्था पत्ता लगाउन यहाँ पुस अन्तिम साताबाट जलपक्षी (पानीचरा)को गणना शुरु गरिएको थियो ।

चरा गणनाको प्रतिवेदनबारे जानकारी दिँदै चरा विज्ञ तथा बर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु विडारीले हाँस प्रजातिका चरा फेला नपरेको जानकारी दिए । अघिल्लो वर्ष ५४ प्रजातिका जलपक्षीको गणना भएको थियो । यसपटकको गणनामा जम्मा ४८ प्रजातिका मात्रै पानीचरा फेला परेको विडारीको भनाइ छ ।

यहाँको अनुगमनमा कूल २ सय १३ प्रजातिका चरा अभिलेख गरिएकामा पानीमा आश्रित भने ४८ प्रजातिको मात्रै फेला परेको हो । उनका अनुसार सिन्दूरे हाँस, फुर्के हाँस, हरि हाँस, सुनचुरी हाँस, सोइरोपुच्छ्रे र स्शेताखिभौँ हाँस फेला परेन ।

मुख्यगरी हाँस प्रजाति फेला नपरेको तर चखेवाहरु भने बढेको पाइएको छ । अनुगमन प्रतिवेदनबारे जानकारी दिँदै विँडारीले चखेवा दुई हजार ८ सय ४९, जलेवा ४ सय २० र सिलसिले ४ सय १० वटा फेला परेको बताए । गणनाका क्रममा पानीमा आश्रित चराको संख्या पाँच हजार ५ सय ७६ र अन्य क्षेत्रमा बस्ने ६ हजार २ सय १५ वटा चरा फेला परेको जनाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र बर्ड एजुकेशन सोसाइटीको अगुवाइमा चितवनमा चरा गणना भएको हो । नेपालको विभिन्न जलक्षेत्रमा ३०० स्वयंसेवक तथा चरा विज्ञहरुको सहभागिता गणना भइरहेको पक्षीविद संघ नेपालकाका प्रमुख डा. हेमसागर बरालले जानकारी दिए । उनका अनुसार नेपालको समग्रको तथ्यांक आएपछि सरकारलाई समेत प्रतिवेदन बुझाइनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org