ताजा समाचार

ओलीले प्रचण्डलाई भने, ‘पार्टी अध्यक्ष को बन्नेभन्दा पनि देश कसरी हाक्ने त्यो सोच्नुहोस्’

काठमाडौं, १४ माघ । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ४ घण्टा लामो छलफल भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकता, मुख्यमन्त्री लगायतका पद बाँडफाँडका विषयमा ४ घण्टा लामो सघन छलफल भएको हो । ललितपुरमा भएको दुई नेताबीचको छलफल सकारात्मक भएको तर कुनै सहमति चाही नभएको एक नेताले बताए ।

आजको अध्यक्षद्वयबीचको छलफल निकै सकारात्मक भएको ती नेताले बताए । धेरै विषयमा मोटामोटी सहमति भएको र वाँकी विषयमा छलफल चलाउँदै एकतालाई निष्कर्षमा पुर्याउन थप गृहकार्य गरेर अन्तिम निर्णयमा पुग्ने सहमति भएको जनाईएको छ । पार्टी अध्यक्ष वा कुनै पदमा केन्द्रित भएर भन्दा पनि समग्र विषयमा ओलीले आफ्नो योजना सुनाएको जनाईएको छ ।

ओलीको मार्गचित्रमा प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएको र पार्टी एकता नहुने भनेर पछिल्लो समयमा चलेका हल्ला तथा आशंकाहरु अन्त्य भएको दावी गरिएको छ । यद्यपि दुवै नेताका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

प्रचण्डले सरकार गठनअघि नै पार्टी एकता हुनुपर्ने अभिव्यक्ति दिइसकेका छन् । त्यसबाट उनको चाहना भनेको एकीकृत पार्टीको अध्यक्ष हुने हो । सरकार गठनअघि पार्टी एकता गर्ने कुराले ओलीमाथि दबाव पर्ने माओवादीको ठम्याई हो । तर, ओली भने सहजै प्रचण्डलाई अध्यक्ष हस्तान्तरण गरेर पार्टी एकता गर्ने पक्षमा छैनन् ।

उनले प्रचण्डलाई सहअध्यक्षमा मनाएर आफू सरकारमा गएपछि कार्यवाहक अध्यक्ष दिने विकल्प सुझाएको चर्चा एमाले वृत्तमा चलेको छ । पार्टी एकता प्रक्रियामा अन्योल बढेपछि दुई नेता शुक्रबारदेखि एक्लाएक्लै सघन छलफलमा जुटेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org