ताजा समाचार

शिवरात्रि लक्ष्यित गर्दै पशुपतिनाथमा निःशुल्क भण्डारा सुरु


काठमाडौं, २२ माघ । महाशिवरात्रिलाई लक्षित गरी पशुपतिनाथ मन्दीरमा निःशुल्क भण्डारा सुरु भएको छ ।महाशिवरात्रिमा भगवान पशुपतिनाथको दर्शनका लागि आउने साधु, सन्त र सर्वसाधारणका लागि पशुपति क्षेत्रस्थित वनकालीमा निःशुल्क भण्डारा सुरु भएको हो ।

शिव सेना नेपाल र बाबा मोहननाथ गुरुगद्दि जालोरको आयोजनामा ‘महाशिवरात्रिमा चौथो विशाल भण्डारा २०७४’ सोमबारबाट सुरु भएको छ । भगवान शिवको विशेष पुजापाठ र हवनसँगै भण्डारा सुरु भएको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ ले जानकारी दिए ।

शिव सेना नेपालले केही वर्षदेखि निःशुल्क भण्डारा सञ्चालन गर्दै आएको छ । पहिलो वर्ष तीन दिनका लागि निशुल्क भण्डाराको आयोजना गरिएको थियो । गतवर्ष पाँच दिनका लागि गरिएको भण्डारा यसवर्ष शिवरात्रिको एक साताअघि देखि नै सञ्चालन गरिएको छ ।

अध्यक्ष बस्नेत भन्छन्, ‘विगतको तुलनामा यसपटक बढी दिन भण्डाराको आयोजना गरेका छौं । एक सातामा करिब १ लाखले निःशुल्क भोजन गर्नुहुनेछ भन्ने हाम्रो अनुमान हो ।’ भण्डाराको सात्विक भोजनमा खीर, मीठाई, फलफूलसमेत राखिएको छ ।

यसवर्षको महाशिवरात्रि फागुन १ गते परेको छ । महाशिवरात्रिमा भगवान पशुपतिनाथको दर्शनका लागि बाबा र साधुहरु काठमाडौं आउन थालिसकेका छन् । शिवरात्रिमा भारतबाट साधु, बाबा, सन्यासी, जोगी, नागाबाबासमेतको भिड हुने गर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org