ताजा समाचार

कतै तपाईले ट्राफिक नियम त मिच्नु भएको छैन् ? हो भने घरमै चिठी पुग्ला !

काठमाडौं, २ फागुन । तपाईले जथाभावी ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाइरहनु भएको त छैन ? ट्राफिक प्रहरी अगाडि छैन भनेर नियम उल्लंघन गर्नुभएको भए अब कारबाहीमा पर्नुहुन्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सिसी क्यामराको माध्यामबाट ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनका चालकलाई धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

महाशाखाले माघ २४ गतेदेखि उक्त प्रक्रियालाई तीव्रता दिएको हो । ट्राफिक व्यवस्थापनका लागि महाशाखामा राखिएको सिसी क्यामरा र महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेको सिसी क्यामरामार्फत ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई निगरानीमा लिएर कारबाही गर्न शुरु गरेको हो ।

दुई वर्ष पहिलेदेखि महाशाखाले सिसी क्यामराको माध्यमबाट सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरे पनि अब भने ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई घरमै चिठी पठाउन लागेको हो । महाशाखाले नियम मिच्ने सवारी साधनलाई सिसी क्यामराबाट नम्बरप्लेटको निगरानी गरेर नियम मिच्ने सवारी साधनको विस्तृत विवरण हेरेर घरमा नै पत्र काट्न थालेको हो ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनी चालकले जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि महाशाखाले चालकको घरमा नै चिठी पठाएर कारबाही प्रक्रिया अगाडि बढाएको बताउँछन् । “सबै ठाँउमा ट्राफिक पुग्न सक्दैन, जथाभावी ट्राफिक नियम उल्लंघन गरेपछि दुर्घटना धेरै हुने भएकाले हामीले कारबाहीलाई तीव्रता दिएका हौँ,” उनले भने ।

सिसी क्यामरामार्फत महाशाखामा एक हप्ताको समयमा ३१ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । जसमध्ये तीन जनालाई फोनमार्फत महाशाखामा बोलाएर कारबाही गरिएको र बाँकीलाई चिठी काट्ने तयारी भइरहेको सहप्रवक्ता मसासिनीले जानकारी दिए ।

यो आर्थिक वर्षको माघ मसान्तसम्म उपत्यकामा पाँच लाख ३३ हजार १९९ सवारी साधनले सवारी नियम उलंघन गरेको महाशाखाले जनाएको छ । यस अतिरिक्त ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई प्रमाणसहित जो कोही व्यक्तिले महाशाखामा उजुरी दिएमा कारबाही गर्ने भएको छ । रासस

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org