ताजा समाचार

राजीनामा बुझाउन देउवा राष्ट्रपति भवन पुग्दा ओलीलाई अर्को कोठामा राखिएपछि…

काठमाडौं, ३ फागुन । बिहीबार मुलुकले एकै पटक एक प्रधानमन्त्रीको विदाई र अर्का प्रधानमन्त्रीको स्वागत गर्ने मौका पायो । आफ्नो ९ महिने कार्यकाल पुरा गरेर निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनमा दिए । भने एमाले अध्यक्ष केपी ओली मुलुकको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भए ।

यो दुवै खेल भईरहँदा राष्ट्रपति भवन शितल निवासमा एउटा रोचक घटना घट्यो । बिहीबार बिहानै एमाले अध्यक्ष केपी ओली लगायतका वाम नेताहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्दै थिए । हतार-हतार मन्त्रिपरिषदको अन्तिम बैठक सकेर प्रधानमन्त्री देउवाले बालुवाटारबाटै देशबासीलाई सम्बोधनसहित राजीनामाको घोषणा गरे । अनि नजिकै रहेको राष्ट्रपति कार्यालयमा राजीनामा पत्र बोकेर पुगे ।

प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा पुग्दा केपी ओलीसहित वाम गठबन्धनका नेताहरु शीतलको एउटा कोठाभित्र थिए । अब उनीहरुबीच पनि भेट हुन सक्ने आकलन गरियो । तर त्यहा त माहोल नै अर्कै भयो । देउवा शितल निवास पुग्दा ओलीलाई अर्को कोठामा सारिएको थियो ।

देउवा आउनु अघिसम्म राष्ट्रपति भण्डारी वाम गठबन्धनका नेताहरुसँग कुराकानी गरिरहेकी थिइन् । तर, देउवा आएपछि उनलाई अर्कै कोठामा राखियो र राष्ट्रपतिले त्यहीँ गएर राजीनामा पत्र बुझिन् । देउवालाई विदा गरेपछि राष्ट्रपति भण्डारी फेरि वाम गठबन्धनका नेताहरु भएको ठाउँमा आइन् । त्यसपछि उनले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको औपचारिक पत्र दिइन् ।

अन्ततः पुरानो प्रधानमन्त्रीले राजीनामा बुझाउने र नयाँले नियुक्तिपत्र लिने काम भयो । तर, राजीनामा लेनदेनमा ओली र देउवावीच भेटघाट नभए पनि सपथ ग्रहणमा भने पुरानो प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीसँग औपचारिक रुपमा कुर्सी साटासाट गर्ने प्रचलन छ । र, यो काम आजै हुनेछ । त्यहाँ ओली र देउवाले हात मिलाएर बधाइ अनि धन्यवाद ज्ञापन गर्नेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org