खानेपानी नआएपछि कार्यालय घेराउ
काठमाडौँ, १५ फागुन । काठमाडौँ उपत्यकाकै सबभन्दा बढी पानीको स्रोत सुन्दरीजल क्षेत्रकै धारामा डेढ महिनादेखि पानी नझरेपछि स्थानीयवासी महिलाले आज खानेपानी र वडा कार्यालय घेराउ गरेका छन् ।
यस क्षेत्रका धारामा माघ लागेदेखि नै पानी खसेको छैन । पानीको स्रोत भएका क्षेत्रमै पानी खोज्न हिँड्नुपरेको जनाउँदै स्थानीय महिलाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका सुन्दरीजल प्रशोधन केन्द्र र गोकर्णेश्वर नगरपालिका वडा नं १ कार्यालय घेराउ गरे ।
पटक पटक खानेपानी कार्यालयमा खबर गर्दा पनि पानीको मुहान क्षेत्रमा खानेपानी नआएपछि घेराउ गर्न बाध्य हुनुपरेको स्थानीयवासी पुष्पा पोखरेलले बताउनुभयो । “अन्तका मानिसले सुन्दरीजलमा त पानीको दुःख नहोला नि भन्छन्, तर यहीँका धारामा डेढ महिनादेखि पानी आएको छैन, प्रत्येक दिन ढुंगेधारामा पानी लिन जानुपर्छ, ढुंगेधारा थोरै भएकाले एक गाग्री पानीका लागि दैनिक तीन घण्टाको लाम बस्न बाध्य हुनुपरेको छ”, उहाँले भन्नुभयो ।
पानी प्रशोधन केन्द्र कार्यालय सुन्दरीजलले भने एक दिन बिराएर सुन्दरीजल क्षेत्रमा पानी वितरण गरिएको जिकिर गरेको छ । कार्यालय प्रमुख वसन्त पाल वाग्मतीमा पानी सुके पनि मुहान क्षेत्रमा एक दिन नदिइए अर्को दिन पानी पठाइने गरिएको बताउनुहुन्छ । “जनघनत्व कम भएका बेला दुई इञ्चको पाइपमा यस क्षेत्रमा पानी वितरण गरिएको थियो, अहिले घर बढेका छन्, पानी वितरण गर्ने पाइप बढाइएको छैन, कार्यालयले एक दिन बिराएर पानी वितरण गर्दा पनि सानो पाइपका कारण कतै पानी जाने र कतै नजाने समस्या छ”, उहाँले भन्नुभयो ।
सुन्दरीजल प्रशोधन केन्द्रमा हाल ४५ लाख लि पानी प्रशोधन गरी माथिदेखि नै वितरण हुन्छ । दुई करोड ५५ लाख लि पानी भने सुन्दरीजलबाट महाँकालचौर ल्याई प्रशोधन गरेर वितरण गरिन्छ । वाग्मती नदीको स्रोतबाट हाल दैनिक तीन करोड लि पानी वितरण भइरहेको कार्यालय प्रमुख पालले जानकारी दिनुभयो । वर्षायाममा भने यहाँबाट दैनिक पाँच करोड लि पानी वितरण गरिन्छ । यो उपत्यकामै धेरै पानीको स्रोत भएको क्षेत्र हो ।
वडाध्यक्ष राम मानन्धर डेढ महिनादेखि मुहान क्षेत्रकै धारामा पानी नआएको समस्या लिएर स्थानीय महिला आएपछि खानेपानी कार्यालयमै लगेर कार्यालय प्रमुखसँग छलफल गरिएको बताउनुहुन्छ । “सुन्दरीजल क्षेत्रको केही भागका धारामा गोकर्णमा ‘गेटभल्भ’ बन्द नगरी पानी आउँदैन, मुहान क्षेत्रमा २४सै घण्टा पानी आउने गरी व्यवस्था गर्न खानेपानी कार्यालयमा माग गरिएको छ, मेलम्चीको पानी प्रशोधनका लागि पनि यही प्रशोधन केन्द्र निर्माण भएकाले मेलम्चीको पानी यहाँ पनि वितरणको व्यवस्था मिलाउन पत्राचार गरिएको छ”, उहाँले भन्नुभयो ।
मुहान क्षेत्रकै धारामा पानी आउने व्यवस्था नगरे मेलम्चीको पानी आएपछि प्रशोधन केन्द्रबाट वितरणमा अवरोध गर्ने चेतावनी स्थानीयवासीले दिँदै आएका छन् । गोकर्णेश्वर नगरपालिकाका वडा नं २, ४, ५, ६, ७, ८ र ९ का धारामा पनि पानी आउँदैन । नगरपालिकाका नयाँपाटी, गोकर्ण, अत्तरखेल, बेसीगाउँ, जोरपाटी र नयाँबस्ती क्षेत्रमा पनि पानी नआएको दुई महिनाभन्दा बढी भएको स्थानीयवासीको गुनासो छ ।
नगर प्रमुख सन्तोष चालिसे मुहान क्षेत्रका वडामा पानी आउने व्यवस्था नभए मेलम्चीको पानी रोक्न बाध्य हुनुपर्ने चेतावनी सरकारका सम्बन्धित निकायलाई दिइएको बताउनुहुन्छ । पानी आउनुभन्दा वर्षौंअघिदेखि गरिएको अनुरोध कार्यान्वयन नभई पानी रोक्दा हुने क्षतिको जिम्मेवारी सम्बन्धित निकायले नै लिनुपर्ने उहाँको भनाइ छ ।
(रासस)
Comments
अरु समाचार
-
विराटनगरमा अस्पतालबाट खस्दा डाक्टरकाे मृत्यु
काठमाडौं । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
अनियमित मौसमको असर : यस वर्ष धान उत्पादन घट्यो
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि...
-
सञ्चय कोषको बाँकी रकम हिसाब मिलान गर्नू : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोषमा विगतमा कोषकट्टी भई बाँकी रहेका रकमको भुक्तानी लिन सम्बन्धित सञ्चयकर्तालाई आग्रह गरेको छ।...
-
आगामी निर्वाचनमा उम्मेदवारले सवारीसाधन प्रयोग गर्ने व्यवस्था कस्तो ?
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति...
-
जेनजी समूहको संयुक्त बैठकले मिरजलाई संयोजक तोक्यो, सरकार अपदस्थ गर्नेसम्मका योजना
काठमाडौं । जेनजी आन्दोलनलाई संस्थागत रूपमा अगाडि बढाउने उद्देश्यसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले मिरज ढुङ्गानालाई संयोजक चयन...
-
साफ महिला च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी
काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना गरेको साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि भारतको इस्ट...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...













