ताजा समाचार

बेंसीसहर–चामे सडक अवरुद्ध

लमजुङ २ चैत्र  । असिनापानीसंगै आएको पहिरोले बेंसीसहर–चामे सडकमा अवरुद्ध भएको छ ।

स्थानीयका अनुसार लमजुङको मस्र्याङ्दी गाउँपलिका ४ ताघ्रिङमा पर्ने स्याँगे र शीरचौर बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

हिमाली जिल्ला मनाङ जाने एकमात्र सडक अवरुद्ध भएपछि सबै सवारीसाधनहरुको आवागमन ठप्प भएको छ । मस्र्याङदी ४ का वडाअध्यक्ष सुमन गुरुङका अनुसार मनाङबाट आएका सवारी साधन र बेंसीसहरबाट मनाङ गएका सवारी साधन पहिरो गएको ठाउँमा रोकिएका छन् ।

बेंसीसहरदेखि करीब २५ किलोमीटरको दुरीको सडकमा पहिरो खसेको हो । पदमार्गमा केही दिनयता देखि पर्यटक आउने क्रम बढेकोले उनीहरु समस्यामा परेको अध्यक्ष गुरुङले बताउनुभयो । मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले सो बाटो सानोतिनो मेशिनले खुलाउन नसकिने बताउनुभएको छ । बाटो अवरुद्ध भएपछि यात्रु आवातजावतसंगै खाद्यान्न ढुवानी समेत ठप्प भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org