ताजा समाचार

कर्णाली राजधानीमा खानेपानीको समस्या

सुर्खेत २६ चैत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक ५४ लाख लिटर पानी अभाव हुन थालेको छ । प्रदेशको राजधानी तोकिएसँगै त्यहाँको बढ्दो सहरीकरण जनसंख्या बढ्दै गएपछि खानेपानी अपुग हुन थालेको हो । वीरेन्द्रनगर उपत्यकामा झण्डै डेढ लाख जनसंख्या रहेको अनुमान गरिएको छ । वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक एक करोड ८८ लाख लिटर खानेपानी आवश्यक भएपनि सुर्खेत उपत्यका खानेपानी संस्थाले दैनिक १ करोड ३३ लाख लिटर खानेपानी मात्र उपलब्ध गराउँदै आएको छ ।

सुर्खेत उपत्यका खानेपानी संस्थाको पानीको मुख्य स्रोत मानिएको झुप्राको मुहानमा पानी कम हुँदै गएपछि उपत्यकामा पनि खानेपानी अभाव हुन थालेको सुर्खेत उपत्यका खानेपानी संस्थाका कार्यालय प्रमूख डम्मरबहादुर गौतमले जनाए । उपत्यकामा झुप्रा खोला, खरिखोला, बोरी खोला, इत्राम खोला, खोर्के खोला र बुलबुलेबाट खानेपानी उपलब्ध गराउँदै आएको छ । गर्मीयाम सुरु भए पछि वीरेन्द्रनगरमा खानेपानी अभाव अझ बढ्न सक्ने अनुमान गरिएको छ । ‘विगतका वर्षहरुमा खानेपानी ९६ घण्टामा एक पटक उपलब्ध भएको छ’ गौतमले भने, ‘स्रोतमा आउने कमीका आधारमा पनि पानीको आपुर्ति घटबढ हुनसक्छ ।’

उपत्यका खानेपानीको मुख्य स्रोत मानिएको झुप्रा खोलाको मुहानमा नियमित ७६ लिटर प्रतिसेकेण्ड उपलब्ध भएपनि सुख्खायाम उक्त मुहानमा ५५ लिटर प्रतिसेकेण्ड पुग्दा उपत्यकामा खानेपानी अभाव बढ्ने गरेको छ । पुरानो लाइनका पाइपहरु जिर्ण हुँदै गएपछि हुने खानेपानी चुहावटले पनि उपत्यकाको खानेपानीमा असर गरेको कार्यालय प्रमूख गौतमले बताए ।

खानेपानी वितरण लाईनका केही स्थानमा पाइपहरु पुराना भई जिर्ण हुँदै गएपछि पानी चुहावट भएको बताइएको छ । संस्थाले वीरेन्द्रगरमा हाल २४ घण्टामा एक पटक उपभोक्तालाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org