ताजा समाचार

स्थानीय पाइलट अभावले पूर्वका प्याराग्याइडिङ उडान बन्द

 

इटहरी, २६ चैत । धरानमा पहिलोपटक प्याराग्याइडिङ परीक्षण गरेका राम राई र पहिलोपटक सरकारी इजाजत लिएर व्यावसायिक उडान भर्ने रोशन अधिकारी दुवैका प्याराग्याइडिङ उडान बन्द भएका छन् ।

स्थानीय पाइलटको अभावका कारण प्याराग्याइडिङ उडान बन्द गरेका हुन । बुढासुब्बा प्याराग्याइडिङ नामक प्याराग्याइडिङ कम्पनीका सञ्चालक राई र धरान स्काइ एडभेन्चर प्याराग्याइडिङका सञ्चालक अधिकारीले उडान नगरेको हप्तौँ भइसकेको छ ।

बुढासुब्बा प्याराग्याइडिङले अहिले दर्ता नविकरण समेत गरेनका छैन् । भेडेटार धरानको आकाशमा प्याराग्याइडिङ गरेर पूर्वमा व्यावसायिक प्याराग्याइडिङ गरेका दुवै कम्पनी बन्दको अवस्थामा छन् ।

धरानमा पोखरा, भारत र तेस्रो देशका प्याराग्याइडिङ पाइलटहरू ल्याउँदा महँगो पर्ने धरान स्काइ एडभेन्चर प्याराग्याइडिङका सञ्चालक रोशन अधिकारी बताउँछन ।

टाढाका पाइलट आउँदा महँगो पर्ने र नियमित ग्राहकहरू नआएपछि पाइलट पाल्नै समस्या हुने अधिकारीको बताए । हरेक पाइलटले एक उडानमा ३५ सय लिने र खानबस्ने सुविधाहरू माग्ने भएकाले उडान महँगो पर्छ । महँगो उडान भएपछि सामान्य आय भएकाहरु उड्दैनन् । र, व्यावसायिक सञ्चालनमा समस्याहरू आउँछन् ।
यस्तैगरी, धरानका दुवै प्याराग्याइडिङ कम्पनीहरू बन्दको अवस्थामा पुग्ने अर्को कारण हो ।

पूर्वमा पहिलोपटक उडान र व्यावसायिक प्याराग्याइडिङ सञ्चालन गरेका धरानका प्याराग्याइडिङ कम्पनी आएपछि ओखलढुंगा, ताप्लेजुङ र उदयपुर जस्ता स्थानमा पनि प्याराग्याइडिङका सफल परीक्षणहरू भए । तर, स्थानीय पाइलट उत्पादन नभएको अवस्थामा सरकारी कर र उडान अभावले कम्पनीहरू चल्न नसक्ने देखिएको छ ।

यसको समाधानका लागि स्थानीय पाइलटहरू उत्पादन गर्नु राम्रो विकल्प भएको धरानस्काइ एडभेन्चरका सञ्चालक तथा धरान १ का वडाध्यक्ष रोशन अधिकारीले बताउनु भयाे । अधिकारीका अनुसार स्थानीय पाइलट भएपछि हाल लिँदै आएको फोटो भिडियोसहितको ७ हजार शुल्क आधामा आउँछ । र, त्यो शुल्कमा जो कोहीले वर्षमा एक दुई उडान गर्न सक्छन् । स्थानीय पाइलट भएपछि पार्ट टाइम उडान गरेर आम्दानी गर्न युवाहरूलाई पनि सहज हुने अधिकारीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org