ताजा समाचार

आज अक्षय तृतीया

 काठमाडाैं,५ बैशाख । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू धर्ममा यो तिथिको विशेष महत्व छ । यो हरेक वर्षमा आउने ४ वटा अबुझ मुहूर्तमध्ये एक हो ।

अक्षय तृतीयका दिन गरिएको दान एवं धर्मबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल वा पुण्य प्राप्त हुन्छ । यसकारण यो तिथिलाई धानधर्मका लागि अचुक काल मानिएको छ । यसलाई चिरञ्जीवी तिथि पनि भनिन्छ किनभने यसै दिन ८ चिरञ्जीवीमध्ये एक भगवान् परशुरामको जन्म भएको थियो । यो दिनलाई कुनै पनि शुभ कार्यका शुभ सिद्ध मुहूर्त मानिन्छ ।

शास्त्रअनुसार वैशाख महिनालाई विष्णुको महिना मानिन्छ र यो महिना विष्णु भक्तिका लागि शुभ हुन्छ । पौराणिक मान्यता अनुसार अक्षय तृतीया तिथिमै परशुरामका साथै नरनारायण तथा हयग्रीव आदि विष्णुको अवतार भएका थिए । त्यसैले यो दिन परशुराम एवं नरनारायण जयन्ती मनाइन्छ । त्रेतायुगाको सुरुवात पनि यसै तिथिमा भएको मानिन्छ । यो दिन महालक्ष्मीको पूजा गर्नु पुण्यदायक एवं महामंगलकारी हुने शास्त्रीय वचन छ ।

अक्षय तृतीयाका दिन गरिएको दान तथा त्यसको फल कहिल्यै नाश हुँदैन । यो दिन गर्मी मौसमका लागि उपयोगी जौ, गहुँ, चना, सातु, दहीचामल, उखुको रस, दूधका परिकार, सोन, जलभरिएको घडा, पंखा, छाताजुत्ता, वस्त्र आदि कुराको दान गर्नु मंगलकारी हुन्छ । यस दिन पितृको श्राद्ध तथा ब्राह्मण भोजन गराउँदा पनि अनन्त फल मिल्ने जनविश्वास पाइन्छ ।

ज्योतिष शास्त्रका अनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहन्छन् । यसकारण यो दिन विवाह, नयाँ कारोबारको सुरुवात तथा गृहप्रवेशजस्ता मंगल कार्य गर्नु निकै शुभ मानिन्छ । यो दिन विवाह गर्दा कुनै पनि प्रकारको दोषले बाधा गर्दैन भनिएको छ ।

अक्षय तृतीयाका विशेषता

-अक्षय तृतीयालाई अनन्त-अक्षय-अक्षुण्ण फलदायक दिन मानिएको छ । जुन कहिल्यै पनि क्षय हँुदैन, त्यसैलाई अक्षय भनिन्छ ।

-यो दिन विवाह गर्नेको शौभाग्य अखण्ड रहन्छ । यो दिन महालक्ष्मीलाई प्रशन्न तुल्याउन विशेष अनुष्ठान गर्नु राम्रो हुन्छ । यसो गर्दा अक्षय पुण्य प्राप्त हुन्छ ।

-यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ । शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । विवाह, सुन खरिद, नयाँ सामान खरिद, गृह प्रवेश, पदभार ग्रहण, सवारी साधन खरिद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यो दिन अति उत्तम हो ।

– भविष्य पुराणअनुसार अक्षय तृतीयाको दिन सत्ययुगको अन्त तथा त्रेतायुगको प्रारम्भ भएको थियो ।

-भगवान् विष्णुका २४ अवतारमध्ये भगवान परशुराम, नर-नारायण एवं हयग्रीव आदि तीन अवतार अक्षय तृतीयको दिन नै धर्तीमा आएका थिए ।

– हिन्दूहरूको तीर्थस्थल वृन्दावनस्थित बाँकै बिहारीको चरण दर्शन पनि अक्षय तृतीयको दिन मात्रै हुन्छ । बद्रीनाथको ढोका पनि यसै दिन खोलिन्छ ।

-अक्षय तृतीया वर्षकै सर्वश्रेष्ठ अक्षय मुहूर्त हो ।

-नेपाली हिन्दूहरूले अक्षय तृतीयाको दिन सातु र सर्वत खाने खुवाउने गर्दछन् ।

-पौराणिक कथनअनुसार यसै दिन महाभारतको लडाइँ सकिएको थियो र द्वापर युग पनि सकिएको थियो । यसै दिन श्रीकृष्णले युधिष्ठिरले सोधेको प्रश्नको जवाफ दिँदै भनेका थिए-आजका दिन जुनसुकै रचनात्मक तथा सांसारिक कार्य गरे पनि त्यसको पुण्य प्राप्त हुन्छ । कुनै पनि नयाँ काम थालनी गर्दा त्यसबाट ख्याति प्राप्त हुन्छ । यस दिन स्नान, दान, ध्यान, जप, तप, हवन, स्वाध्याय एवं पितृ तर्पण गर्दा त्यसबाट ठूलो पुण्य प्राप्त हुन्छ ।

-जसको कुनै काम रोकिएको छ, आँटेताकेको काम बन्न सकेको छैन, व्रत उपवास आदि गर्दा पनि जसको मनोकांक्षा पूरा हुन सकेको छैन, जसको व्यापारमा निरन्तर घाटा भइरहेको छ त्यस्ता व्यक्तिले अक्षय तृतीयाका दिन नयाँ हिसाबले काम थालनी गर्दा इच्छित फल प्राप्त हुन्छ ।

-जसको कमाइ भएर पनि अडिँदैन, घरमा पैसा टिक्दैन, घरमा सुखशान्ति छैन, सन्तान आज्ञाकारी छैनन्, शत्रुले चौतर्फी घेरा हालेका छन् भने अक्षय तृतीयाको व्रत गर्नुपर्छ । यो दिनको व्रत तथा दान पुण्यले सबै बाधा टाढिन्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org