ताजा समाचार

सिरहा अस्पताल मेसुसहित स्थायी चिकित्सकविहीन

 

लहान, २३ वैशाख । सिरहा जिल्ला अस्पताल करारमा रहेका चिकित्सकको भरमा सञ्चालन हुँदैछ ।

कूल ५० श्ययाको अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट र स्थायी विशेषज्ञ चिकित्सक रिक्त हुँदा करारमा रहेका चिकित्सक तथा प्राविधिकले बिरामीको उपचार गर्दैआएका छन् ।

अस्पतालमा प्रमुख मेसुसहित कन्सल्टेण्ट पेडिया टिसियन स्त्रीरोग विशेषज्ञ, परामर्श शल्यचिकित्सक, परामर्शदाता हाड शल्यचिकित्सक, परामर्शदाता मनोरोगविशेषज्ञ, कन्सल्टेण्ट एनेस्थियोलोजिष्ट, जनरल फिजिसिएन रेडियोजोलिष्ट एक एक गरी नौ विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि अहिले एक जना पनि स्थायी चिकित्सक छैनन् ।

अस्पतालमा हाल करारमा रहेका स्त्रीरोगविशेषज्ञ विनय महासेठ र फिजिसियन गंगाप्रसाद यादवलगायत छ चिकित्सकले बिरामीको उपचार गर्दैआएका छन् । अस्पतालका मेसु तथा जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा चुमनलाल दास बढुवा भएर सरुवा भएपछि अस्पतालमा हाल मेसुको पदसमेत रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।

मेसुसहित एकै पटक ठूलो संख्यामा स्थायी चिकित्सकको आभाव हुँदा सेवा प्रभावित हुँदै आएको स्थानीयवासीले बताएका छन् । चिकित्सक तथा प्राविधिकको अभाव भएपछि अस्पतालमा बिरामीको उपचारमा समस्या हुनाका साथै नयाँ स्वास्थ्य सेवासमेत सञ्चालन गर्न कठिनाइ भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका शाखा अधिकृत उमेशकुमार कर्णले जानकारी दिनुभयो ।

करारका चिकित्सकको आगामी असार मसान्तसम्म मात्र म्याद रहेकाले त्यसपछि पूर्ण रुपमा अस्पताल चिकित्सकविहीन हुने उहाँले बताउनुभयो । चिकित्सक पठाइदिन विभाग र मन्त्रालयमा पटक पटक आग्रह गर्दा समेत हालसम्म कुनै चिकित्सक नपठाइएकाले अस्पतालमा उपचार सेवा प्रभावित हुँदै आएको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवको भनाइ छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org