ताजा समाचार

‘ऋण कमाउन विदेश गइएछ !’

खोटाङ, १० जेष्ठ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का रामप्रसाद आचार्य वैदेशिक रोजगारका लागि पहिलोपटक मलेसिया गए । सन् २००१ मा रु ८५ हजार मेनपावर कम्पनीलाई बुझाएर मलेसिया जानुभएका आचार्यको कमाइ करिब रु १० हजार मात्र हुन्थ्यो ।

विदेश जाँदा काढेको ऋण तिर्नै उनलाई हम्मेहम्मे पथ्र्यो । काम गर्ने सिलसिलामा दशौँ महिनामा घरको छतबाट लडेर उनको खुट्टा भाँच्चियो । दश महिनासम्म कमाएको पैसाले उपचार गर्न पनि पुगेन ।

सत्र महिना मलेसियामै आराम गरेर उनी स्वदेश फर्के । मलेसिया जाँदाको ऋण तिर्न आचार्य रु एक लाख १५ हजार ऋण खोजेर कतार लागे । “कतारमा शुरुमा भनेजस्तो काम र दाम पटक्कै भएन, सात वर्षसम्म पसिना बगाएर रु तीन लाख जम्मा गरेर २०६५ सालमा घर फर्किए,” उनले पीडा सुनाउए ।

करीब सात वर्षसम्म घरमै थकान मेटाएका आचार्य २०७१ सालमा फेरि मलेसिया हान्निए । मलेसिया पुगेको चार महिना पुग्दा नपुग्दै आचार्यको धन्नैले मात्र ज्यान बच्यो । “इलेक्ट्रिसियनको काम गर्थें, काम गर्दै गर्दा छतबाट भुइँमा खसेछु,” उनले भने, “एक दिनभरि होसै आएन, धन्न समयमै उपचार पाएर ज्यान बचेको छ ।”

आचार्यको ज्यान त बच्यो तर हातखुट्टा दुवै बेकामे भए । टाउकोमा समेत गहिरो चोट लागेका आचार्य त्यहीको अस्पतालमा १० महिनासम्म रहे । “घरबाट रु सात लाख मगाएर उपचार गरी फर्किएँ,” विगत सम्झँदै आचार्य भन्छन् , “ज्यान भत्काउन र ऋण कमाउन विदेश गइएछ ।”

शारीरिक अपाङ्गता भएर घर फर्कनुभएका आचार्यले हाल, थोरै लगानीमा घरमै सानो पसल शुरु गरेका छन् । दुई छोरा र श्रीमतीको साथमा रहेका आचार्यले हप्तामा दुईपटक लाग्ने दिक्तेलबजारको हटियामा कपडा पसल राखेर व्यापार गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org