ताजा समाचार

अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातका छोरा ठगीमा संलग्न, भेट्ला त प्रहरीले ?

काठमाडाैं १३,जेष्ठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातका छोरा  म्यानपावर ठगीमा संलग्न भएको खुलेको छ।

पूर्व प्रधान आयुक्त बस्न्यातका छोराले सञ्चालन गरेको याक्खा ‌ओभरसिज मार्फत् कमल बस्न्यातले वैदेशिक रोजगारीमा जाने युवालाई ठगी गर्ने गरेको महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए।

गत बुधवार महाशाखाको टोलीले महाराजगञ्जमा रहेको ओभरसिजमा छापा मारेको थियो। प्रहरीले ओभरसिजका अर्का सञ्चालक भीमबहादुर रोक्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बस्न्यातले सञ्चालन गरेको म्यानपावरबाट प्रहरीले मलेसिया पठाउन लागेका व्यक्तिको ६ सय १ थान राहदानी समेत बरामद गरेको छ।

तीनजनाको लगानी रहेको म्यानपावरका अन्य दुईजना भने फरार रहेका छन्। फरार हुनेमा पूर्व आयुक्तपुत्र बस्न्यात र अमित रोक्का छन्। एसएसपी सिंहले भने- ‘तीनजनालाई नै पक्राउ गर्नेगरी गएका थियौँ तर बस्न्यात र रोक्का भने भेटिएनन्। उनीहरूलाई हामी खोजी गरिरहेका छौं।’

यो बारेमा न्युज-नेपालले केहि दिन पहिले समाचार समेत प्रकाशन गरेको थियो । उक्त समाचार हटाउन विभिन्न दबाब आएपनि समाचार हटाउन नमान्दा सम्पादकलाई धम्की समेत खेप्नुपरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले रोक्कालाई जिल्ला अदालतबाट ठगी अभियोगमा १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ। बस्न्यातको मोगार्न ह्युमान रिसोर्स कन्सल्टेन्सी पनि रहेको छ। याक्खा म्यानपावरमा बस्न्यातको सबैभन्दा बढी लगानी रहेको प्रहरी अनुसन्धानमा देखिएको छ।

वैदेशिक रोजगारीमा मलेसिया जाने युवाका लागि माइग्रामका नाममा उनीहरूले  १ सय २५ रिंगिट(करिब १५ हजार) रुपैयाँ समेत लिएको प्रहरी अनुसन्धानमा देखिएको महाशाखा एसएसपी सिंहले बताए। उनीहरूले विदेश पठाइदिने भन्दै महँगो शुल्क समेत उठाएको देखिएको छ। ‘१० हजारको भौचर बनाउने तर १ लाख २० हजार रुपैयाँ लिने गरेको रंगेहात भेटियो,’- एसएसपी सिंहले भने। २०७३ वैशाखबाट ‌माइग्राम कम्पनीसँग मिलेर याक्खाले ठगीको सुरु गरेको थियो।

मलेसिया जान लागेका युवाहरुले आफुहरुसँग १ लाख ३० हजार रुपैयाँ लिएको तर १० हजारको कागज मात्र गरेको प्रहरीमा लिखित बयान दिएका छन्। २०७२ जेठ २६ गतेको राज्यमन्त्रीस्तरीय बैठकले सातवटा खाडी मुलुकमा जानका लागि १० हजार रुपैयाँ भन्दाबढी शुल्क लिन नपाउने निर्णय गरेको थियो।

श्रम रोजगार मन्त्रालयले बायोमेट्रिक, भिएलएस, माइग्राम र जिएससी प्रणाली खारेज गरिसकेको छ। केही दिनअघि मात्र ठगी गरेको आरोपमा विभिन्न ३४ कम्पनीका ४० जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा भिएलएनका रामप्रसाद श्रेष्ठ समेत रहेका छन्।

नेकपा एमालेको संरक्षणमा रहेका जिएसजी सर्भिस नेपालका सञ्चालक गोविन्द थपलिया भने अझै पक्राउ पर्न सकेका छैनन्। थपलिया पनि प्रहरीको खोजी सूचीमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org