ताजा समाचार

काँग्रेसका पुराना नेता जोशीको निधन

धनगढी, २० जेष्ठ । नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ ।

बझाङको नेपाली काँग्रेसको संस्थापक नेता जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित थिए ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् । बझाङमा २० वर्षसम्म नेपाली काँग्रेसको सभापति भएका जोशीले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

आन्दोलनका क्रममा उनले बझाङ र कैलालीमा गरी पटक पटक जेल जीवन बिताएका थिए । स्व. जोशीको स्थानीय मोहना नदीको घाटमा आजै अन्तिम संस्कार गर्न लागिएको उनका छोरा सूर्यप्रकाश जोशीले बताए ।

नेपाली काँग्रेसका नेता एनपी साउद, डडेल्धुरा काँग्रेस सभापति कर्णबहादुर मल्ल, कैलाली काँग्रेसका सभापति नरनारायण शाहलगायतले स्व जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org