ताजा समाचार

डोको बुनेर जीविका चलाउँदै सत्तरी बर्षीय विक

रामपुर, पाल्पा, २२ जेष्ठ ।  पाल्पाको रामपुर नगरपालिका–७, किसानवारी बस्ने ७० वर्षीय विष्णु विकले डोको बुनेर नौ जनाको परिवारको गुजारा चलाउँदै आएका छन् ।

उमेरले डाँडापारिको घाम बन्नुभएका विकको डोको बुन्ने कार्यमा जोश जाँगर भने जवानी अवस्थाको जस्तै देखिन्छ । बिहान उठेदेखि रात नपरुञ्जेलसम्म डोको बुनेर दिन बितेको उनलाई पत्तो छैन । “डोको बुन्ने कामले उमेर ढल्कँदै गएको ख्यालै भएन, अझै पनि जवानी नै छु जस्तो लाग्छ तर उमेर हिसाब गर्दा ७० पो काट्न लागेछु” उनले भने ।

विकले ४१ वर्ष अघिदेखि शुरु गरेको यो पेशालाई अहिलेसम्म पनि उत्तिकै जोश जाँगर मेहनतका साथ निरन्तरता दिँदै आएका छन् । उनको हातको सीपले घरमै बसीबसी दिनहुँ आम्दानी गर्ने बाटो बनेको छ ।

सामान्य परिवारमा जन्मेका विकको डोको नबुनेसम्म उहाँको साँझ बिहानको हातमुख जोर्ने अर्को उपाय नै थिएन । डोको बुनेर उहाँको परिवारको जीविका अहिले राम्रोसँग चलेको छ ।

पहिलेपहिले गाउँघरमा प्रयोग हुने डोको, थुन्से, भकारी बुनेर घर घरमा बिक्रीका लागि पुग्ने गर्नुहुन्थ्यो भने अहिले गाउँघरमा यी सामान बुन्ने मान्छे कमै मात्रामा भएपछि उनकै घरमा दिनहुँ आउने गरेको पाइन्छ ।

गाउँघरमा थुन्से, भकारीको चलनचल्ती कम हुँदै जाँदा विकले पनि डोको उत्पादनलाई नै बढी प्राथमिकता दिने गर्नुभएको छ । खरिद गर्नेले पनि बढी डोको नै खोज्ने गरेको पाइन्छ ।

उनले एकवटा बाँस रु २०० देखि तीनसय सम्ममा किनेर डोको बुन्दै आउनुभएको छ । उनी भन्छन्, “कमाउने कोही छैन, सम्पत्तिको नाममा हातमा डोको बुन्ने सीप मात्र छ”– “डोको बुनेर नै छोराछोरीको पढाइ खर्च, घरव्यवहार चलाएको छु ।”

दिनमा पाँचवटा डोको बुनेर मासिक रु २५ हजार जति आम्दानी गर्छन् । एकवटा डोकोको मूल्य साइजअनुसार रु २५० देखि ३५० सम्ममा बिक्री हुने गर्दछ ।

डोकोको माग अत्यधिक हुने गरेकाले पु¥याउन मुस्किल परेको विकले बताए । “पहिले नै अर्डर हुन्छ, ग्राहकको माग बढ्दो छ, कसरी पु¥याउने?” उनले भने । विकले बुनेको डोको बलियो र धेरै समयसम्म टिकाउने हुने र टाढाटाढाबाट पनि डोको खरिदकै लागि ग्राहक आउने गरेका छन् ।

मेहनत गरियो भने पैसा कमाउनकै लागि अन्यत्र धाउनु पर्दैन । हेर्दा जोशिला काममा मेहनती ७० वर्षीय विष्णु विकले गरेको पेशा सबैका लागि उदाहरणीय छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org