ताजा समाचार

 प्रहरी र व्यवसायीबीच झडप, ४ जना घाइते

 

रामेछाप,३१ जेठ । रामेछापको सदरमुकाम मन्थलीमा प्रहरी र स्थानीय व्यवसायीबीच झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा ४ जना घाइते भएका छन् ।

बुधबार राति बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई प्रहरीले बुधबार राति मन्थलीको भैसेसुरमा लाठीचार्ज  गर्दा समाचार संकलन गर्न  गएका पत्रकारसहित ४ जना घाइते भएका हुन् ।

बीपी राजमार्गमा १० टन माथिका मालबाहक र १८ सिट माथिका सवारी साधन तत्कालको लागि सञ्चालन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि गएको जेठ २५ गतेदेखि सिन्धुली प्रशासनले वीपीमार्ग हुँदै रामेछाप छिर्ने यातायातका साधन सञ्चालनमा रोक लगाएको छ ।

रामेछाप छिर्ने ढुवानी सेवालाई रोक लगाए पनि प्रहरीले सिन्धुलीका व्यवसायीहरुसँग मिलेमतो गरी दोलखा जाने ठूला ढुवानीका साधनलाई राति छाडेको भन्दै तिनीहरुलाई रोक्न बुधबार राति मन्थलीका व्यवसायीहरु भैसेसुरमा भेला भएका थिए । सो स्थानमा राति ९ बजेसम्म २० वटाभन्दा बढी मालबाहक सवारी साधन रोकिएपछि प्रहरीले गन्तव्यमा पठाउन खोज्दा झडप भएको थियो ।

प्रहरीको लाठीचार्जबाट तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्की, व्यवसायीहरु उद्धवकुमार श्रेष्ठ र कृष्ण सुवेदी घाइते भएका छन् । समाचार संकलन गर्न गएका पत्रकार युनिक विफा घिसिङ पनि घाइते भएका छन् ।घाइतेमध्ये कार्कीको आँखामा चोट लागेको छ । भने श्रेठको टाउको फुटेको छ । सुवेदीको शरिरका विभिन्न भागमा चोट छ । पत्रकार घिसिङका दुवै तिघ्रामा चोट लागेकाे छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org