ताजा समाचार

जंगली च्याउ खाँदा ६ जना बिरामी

दाङ, २५ असार ।घोराही उपमहानगरपालिका–९, खैरामा  जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् ।

तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन।

डाँगीको हाल बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । आइतबार बेलुका च्याउ खाएलगतै बेहोस भएकी बालिकाको आज बिहानसम्म पनि होस खुल्न नसकेको भन्ने खबर आएको प्रहरीले बताएको छ ।

कोहलपुरमै उपचार गराइरहेकी सोही ठाउँ निवासी ४० वर्षीया हिमा डाँगीको अवस्था भने सामान्य बन्दै गएको छ । च्याउ खाएर बिरामी परेकामध्ये घोराही– ९ दुबिचौर निवासी थप चारजना भने राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको उपचारपछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय जंगलबाट टिपेर ल्याएको च्याउ आइतबार बेलुका पकाएर खाएलगत्तै उनीहरु सबै बिरामी परेको प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org