ताजा समाचार

प्रदेश नं -५: दुई विधेयक प्रमाणीकरण

बुटवल २७,असार। प्रदेश नं ५ का प्रमुख उमाकान्त झाबाट दुई वटा विधेयक प्रमाणीकरण भएको छ ।

प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५ संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५) र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७५ प्रमाणीकरण भएको सम्बन्धमा प्राप्त पत्र पढेर सुनाए ।

प्रदेशसभाको अठारौँ बैठकको विशेष समय, उन्नाइसौँ बैठकको शून्य समय र बीसौँ बैठकमा ध्यानाकर्षण भएको विषयवस्तुमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले सर्पदंशको जोखिम भएको क्षेत्रमा सर्पदंशको उपचारसम्बन्धी विशेष व्यवस्था भएको जानकारी दिँदै क्यान्सरपीडित महिलाको उपचार गर्न र मुक्त कम्लहरीको क्षमता विकास गर्न आवश्यक बजेट व्यवस्था गरेको बताए।

उहाँले पुरातात्विक कामसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान, संरक्षण र वर्गीकरण गर्न आवश्यक बजेट छुट्याइएको उल्लेख गर्दै कंचन गाउँपालिकामा भएको किशोरीमाथिको घटनामा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री आरती पौडेलले भूमि व्यवस्थापनका लागि आयोग गठन हुने उल्लेख गर्दै भू–उपयोग नीति, बस्ती विकास नीतिको तर्जुमा हुन लागेको जानकारी दिए।

बैठकमा सार्वजनिक लेखा समिति, अर्थ उद्योग तथा पर्यटन समिति, भौतिक पूर्वाधार तथा विकास समिति, प्रदेश मामिला तथा कानून समिति, सामाजिक विकास समिति र कृषि वन तथा वातावरण समितिमा मनोनयन गरिएको सदस्यहरुको नामावलीवारे सभामुख पूर्णबहादुर घर्तीले जानकारी गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org