ताजा समाचार

डा. केसीका प्रतिनिधि र सरकारबीचको वार्ता निष्कर्षविहीन, सरकारी टोली जुम्ला नजाने

काठमाडौं १, साउन । जुम्ला सदरमुकाममा अनशनरत डाक्टर गोविन्द केसीका प्रतिनिधि र सरकारबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा चलेको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गठित शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच वार्ता गरेको हो ।

मन्त्रालयमा भएको वार्तामा अर्को वार्ता कहिले हुने भन्ने विषयमा समेत सहमति जुटेन । वार्तामा सरकारी प्रतिनिधिले पहिले केसीलाई काठमाडौं ल्याउनुपर्ने र उपचार गराउनुपर्ने बताएको थियो भने केसी पक्षले पहिले विधेयक फिर्ता हुनुपर्ने अडान राखेका थिए । दुवै पक्ष विच आआफ्ना अडानमा रहेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको हो ।

डा. केसीले राखेको पहिलो बुँदामै कुरा नमिलेपछि वार्ता स्थगित भएको डा. केसी पक्षबाट वार्तामा सहभागी डा. अभिषेक सिंहले बताए । उनले भने, “डा. केसीको माग संसदमा दर्ता भएको विधेयक फिर्ता हुनुपर्ने रहेको थियो, तर सरकार पक्षले भने डा. केसीलाई काठमाडौं ल्याएर जीवन रक्षा गर्ने कुरामा मात्र बढी जोड दिएको पाइयो । हामीले तपाईंहरु र हामी कोही डा. केसी अनसन बसेको स्थान जुम्ला गरेर वार्ता गरौं भन्यौं, तर उहाँहरुले नजाने बरु समिति बाहेकका अन्य एक कर्मचारी पठाउनले बताउनुभयो ।”

वार्तामा सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव खगराज बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी सहभागी थिए । त्यस्तै, डा. केसीका तर्फबाट डा. सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी थिए ।

जुम्लामा १८ दिनदेखि अनसनरत डा. केसीले चिकित्सा शिक्षा विधेयक फिर्ता नगरेसम्म अनशन नतोड्ने बताउँदै आएका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org