ताजा समाचार

किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देशन, बलत्कारमा संलग्नलाई मृत्युदण्ड दिन कांग्रेसको माग

काठमाडौँ १३, साउन । सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् ।

शून्य समय र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् ।

संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरे ।

कांग्रेसकी अर्का सांसद डिला संग्रौलाले सरकार हत्यारालाई पत्ता लगाउनु साटो पीडित परिवारलाई दमन गर्न उद्धत रहेको आरोप लगाइन् ।

सांसदको मागपछि सभामुख महराले सो घटनाका बारेमा सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराए । उनले सभामुख र उपसभामुखका विषयमा अदालतमा मुद्दा विचाराधीन रहेकाले सो विषयमा सदनमा छलफल हुन नसक्ने जानकारी दिए ।

सांसदले सभामुख र उपसभामुख एउटै दलको हुन नसक्ने भन्दै पटक पटक धारणा राखेपछि सभामुखले अदालतमा विचाराधीन मुद्दामाथि छलफल हुन नसक्ने स्पष्ट गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org