ताजा समाचार

सुनुवाई समितिले जोशीबारे निर्णय लिन सकेन, शुक्रबार फेरि बैठक

काठमाडाैं १६, साउन ।    संसदीय सुनुवाइ समिति प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको विषयमा बुधबार पनि अनिर्णित बनेको छ। अपरान्ह ३ बजे बस्ने भनिएको बैठक सांसद एकापसमा आन्तरिक र गोप्य बैठकमा जुटेपछि ढिलागरी सुरु भएको थियो। तर समिति बैठकले जोशीबारे निर्णय गर्न नसकेको हो।

नेकपा सांसद योगेश भट्टराईका अनुसार जोशीको सुनुवाइ फेरि शुक्रबारसम्म सरेको हो। बैठकमा कांग्रेस सांसदले पार्टीभित्र आन्तरिक छलफलपछि मात्र निर्णय लिने अडान लिएपछि बैठक सरेको भट्टराईले जानकारी दिए।

एसएलसी नै उत्तीर्ण नगरेको पाइएपछि विवादमा तानिएका जोशीलाई प्रधानन्यायाधीशमा नियुक्तिको निर्णय नलिने निचोडमा सत्तारुढ दल पुगेका छन्। एकैसाथ धेरैवटा विवाद सार्वजनिक भएपछि जोशीको प्रधानन्यायाधीश यात्रा धरापमा परेको छ।

यसअघि पटक पटक बसेको संसदीय सुनुवाइ समितिको बैठक अनिर्णित रहँदै आएको थियो। सत्तारुढ दलहरु विवादित पृष्ठभभूमिका जोशीलाई प्रधानन्यायाधीश नबनाउने निचोडमा छन् भने कांग्रेसले अन्तिममा आएर रोक्न नहुने अडान लिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org