ताजा समाचार

६० बर्ष देखि म्याद थपेको थप्यै, अझै बनेन कान्ति लोकपथ

काठमाडाैं  १८,साउन ।कान्ति लोकपथ यस वर्ष पनि सम्पन्न हुन सकेन । तोकिएको समयमा काम नसकिएपछि कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ । १ वर्ष म्याद थप्न सडक विभागसँग प्रस्ताव पठाएको उक्त योजनाका इन्जिनियर नरेन्द्र भट्टले जानकारी दिए ।
‘लगभग सम्पूर्ण काम अन्तिम अबस्थामा पु¥याइएको छ । केही काम बाँकी रहेकोले म्याद थप्नुपरेको हो,’ इन्जिनियर भट्टको दावी थियो ।

आगामी दुई हप्ताभित्र १ वर्षकै म्याद थपिने बताउँदै उहाँले अघिल्लो आर्थिक वर्षभित्र नै काम सकी काठमाडौं–मकवानपुर (हेटौडा)मा सवारी गुडाउने लक्ष्य भए भए पनि पूरा नभएको स्वीकारे ।

छोटो दुरी भएकाले कम समयमै आउन जान सकिने हुँदा सरकारले यसलाई बैकल्पिक मार्गको रुपमा विशेष प्राथमिकतामा दिँदै आएको छ ।

स्थानीय बासिन्दाले भने म्याद थपिए पनि अझै सडक निर्माण कार्य पूरा हुनेमा आशंका गरेका छन् । उनीहरू भन्छन् –सुख्खा पहिरो, कडा चट्टानी भू–बनोट, अहिलेको ठूल्ठूलो पहिरो जस्ता समस्याले यस्तो शंका उव्जाएका हो ।’

तीनपाने भञ्ज्याङदेखि झाँक्री डाँडा हुँदै भट्टेडाँडासम्म सुख्खा पहिरो खसिरहँदा काम प्रभावित भैरहेको छ भने भट्टेडाँडादेखि करिब ७ किमि खण्डमा कडा चट्टान फुटाउन नसकिँदा अहिले पनि सिङगल लेनमा सवारी साधन गुडाउनुपरेको छ । उक्त खण्डमा रहेको कडा चट्टानको भाग फुटाउन ५ मेट्रिक टन बिस्फोटक पदार्थ चाहिने बताइन्छ ।

कुल ९० किमि सडक खण्ड योजनाको भनिए पनि योजनाले ललितपुरको टिकाभैरब पुलदेखि मकवानपुर खण्डको बुद्धचोकसम्म ७९ किमि सडक विस्तार गर्नुपर्दछ । त्यसमध्ये २० किमि कालोपत्रे भएको योजनाले जनाएको छ । साँढे १७ किमि मकवानपुर र साँढे २ किमि ललितपुर खण्डमा कालोपत्रे भएको छ । ६० किमि सडक खण्ड कालोपत्रे गर्ने तयारीमा रहेको इन्जिनियर भट्टले बताए ।

सरकारले यस योजनाका लागि चालु आर्थिक वर्षमा ६० करोड बजेट छुट्याएको छ । विस २०१३ सालमा ट्रयाक खोलिएको यस मार्गमा २०७१÷७२ देखि बहुबर्षिय ठेक्का लगाइएको थियो । बहुबर्षिय ठेक्का सुरु भएदेखि यस सडक खण्डमा अहिलेसम्म १ अर्ब ३४ करोड ७६ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org