ताजा समाचार

‘उथलपुथल गर्दै लात्तिहान्ने’ उद्घोष गरेका दाहालले नै भेट्ने भए देउवा र ओलीको ‘बाघे झाप्पु’!

काठमाडौं । गत फागुन तेस्रो साता एकाएक बदलीएको सत्ता समिकरण लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘उथलपुथल गरिरहने’ अभिव्यक्ति दिएको चार महिनाको समय पार गर्दा नगर्दै देशको राजनीतिमा फेरि अर्को उथलपुथलको स्थिति निर्माण भएको छ।

वर्तमान सत्ता साझेदार दल नेकपा एमालेले प्रधानमन्त्री दाहाललाई चक्मा खुवाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मिलेर नयाँ सत्ता समिकरणको प्रक्रिया सुरु गरेसँगै ०७९ पुस ११ मा सत्ताको नेतृत्व लिएर कहिले एमाले त कहिले कांग्रेसलाई कहिले एउटाको हात समाएर अर्कोलाई लात हान्दै आएका दाहाल अन्तत आफैँ उत्तानोटाङ लगाउने स्थितिमा पुगेका छन्।

कुनै समय सत्ता समिकरणको विषयमा कुरा पनि नचल्ने स्थितिमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्वादको प्रक्रियालाई गोप्यरुपमा अघि बढाउँदै असार १५ गते दहि चिउरा खाने बहानामा बालकोट पुगेर सत्ता साझेदारीमा अघि बढ्न तयार रहेको स्पष्ट सन्देश दिए।

सार्वजनिक खपतका लागि मात्र होइन, औपचारिक कार्यक्रममा समेत निकै कम बोल्ने स्वभाव तर, बचनको पक्का देखिँदै आएका देउवाले आफूलाई विगत डेढ वर्षको अवधिमा मात्रै दुई पटक धोका दिएका दाहाललाई बालुवाटारबाट खुमलटार पठाउने योजनामा ओलीलाई सरकारको नेतृत्व दिन तयार भएपछि कांग्रेस र एमालेका केही नेताहरुले सहमति पत्रको गृहकार्यलाई तिब्रता दिए।

सोही आधारमा सोमबार देउवा र ओलीबीच मध्यरातमा उक्त सहमतिलाई औपचारिकता दिएसँगै १८ महिना पहिले देशको प्रधानमन्त्री बन्दै पटक पटक सदनबाट घट्दो संख्यामा विश्वासको मत लिँदै आएका दाहाललाई सत्ताच्यूत गर्ने स्थितिको निर्माण बनेको हो।

यसैबिच एमाले अध्यक्ष ओलीले मंगलबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसमक्ष एमाले र कांग्रेसबिचको पछिल्लो सहमति बमोजिम नयाँ सरकार गठन गरी अघि बढ्न लागेको जानकारी गराउँदै त्यसका लागि मार्ग प्रसस्त गरिदिन आग्रह गरेका थिए।

तर, त्यसलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई ठूला दलबीचको सहमतिलाई सहजतापूर्वक नलिई संविधान बमोजिम सदनमा विश्वासको मत लिने प्रक्रियामा अडिग रहने सन्देश बाहिर दिएका छन्। यसरी एकाएक बदलिएको राजनीतिक परिदृश्यले स्पष्ट दिशा लिन बढीमा एक महिनाको समय लाग्ने सम्भावना बढेर गएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org