ताजा समाचार

उपचारको क्रममा विद्यार्थीको मृत्यु भएपछि अस्पताल तोडफोड

काठमाडाैं २० , साउन । भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा अध्ययरत विद्यार्थीको उपचार क्रममा मृत्यु भएपछि सोही कलेजका विद्यार्थीहरूले अस्पतालमा तोडफोड गरेका छन्।

बिडिएस अन्तिम वर्षमा अध्ययनरत जनकपुर घर भएका २२ वर्षीय महादेव शाहको उपचार क्रममा मृत्यु भएपछि विद्यार्थीहरू तोडफोडमा उत्रिएका हुन्।

केही दिन अघि शरीरमा आएको खटिरो ‘पिलो’ को अपरेसन गरेका शाह मेडिकल कलेजमा थप उपचारको लागि भर्ना भएका थिए। उपचार क्रममा उनको आइतबार बिहान मृत्यु भएपछि अरु विद्यार्थीहरूले उपचारमा लापरवाही भएको भन्दै मेडिकल कलेजमा तोडफोड गर्दै नाराबाजी गरेका हुन्।

विद्यार्थीहरूले शाहलाई दिइएको गलत औषधिका कारण मृत्यु भएको दाबी गर्दै मेडिकल कलेजभित्रै नाराबाजी गर्दै अस्पतालका शिशाहरू तोडफोड गरेका छन्।

तोडफोडले कलेज तनावग्रस्त बनेपछि अहिले अवस्था नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्यामलाल ज्ञवालीले अहिले मेडिकल कलेजलाई  प्रहरी सुरक्षामा राखिएको जानकारी दिए।

आक्रोशित विद्यार्थीहरू अस्पतालभित्रै तोडफोडमा उत्रिएपछि केहीबेर तनावग्रस्त बनेको थियो। विद्यार्थीहरूले बिरामी भर्ना भइरहेको अवस्थामै आइसियू कक्षमा समेत तोडफोड गरेको अस्पताल प्रशासनले जनाएको छ।

घटनाको विषयमा मेडिकल कलेज प्रशासन र विद्यार्थीहरूका बीचमा अहिले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा छलफल भइरहेको प्रहरी उपरिक्षक ज्ञवालीले बताए।

अस्पताल प्रशासनले पिलोको सफल अपरेसन भए पनि संक्रमण बढ्दै गएपछि शाहको मृत्यु भएको बताएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org