ताजा समाचार

सशस्त्र प्रहरी हत्याका आरोपी अदालतमा हाजिर

गौशाला २९, साउन । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।

उनीसँगै सोही मुद्दाका आरोपी राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि आज अदालतमा हाजिर भएका छन् । उनीहरु दुवैजना आफैँ निवेदन लिएर अदालतमा बिहान १०ः३० बजे हाजिर हुनुभएको स्रेस्तेदार रामानन्द अधिकारीले बताए ।

महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रनानि विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए । घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए ।

उनीहरु जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर हाजिर भएका हुन् । आफैँ हाजिर भएका प्रमुख मिश्र र सहमहामन्त्री पाण्डेलाई अदालतले आजै थुनछेकको बहस चलाउने भएको उनीहरुको वकिल रमेश पाण्डेले बताए ।

यसअघि गत सोमबार सोही मुद्दामा आरोपी रहेका प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैँ निवेदन दिएर हाजिर भएका थिए भने उनलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org