ताजा समाचार

मन्त्री ज्यु खोई कहाँ हट्यो सिन्डिकेट ?

 काठमाडाैँ ३१, साउन । संसद्को विकास समिति बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएका र आगामी दिनका योजनाका बारेमा उपस्थित सांसदले मन्त्री रघुवीर महासेठसमक्ष आ–आफ्ना क्षेत्रका प्रश्न राखेका छन् । सांसद राजेन्द्र लिङ्देनले मन्त्रीलाई प्रश्न गरे, “मन्त्रीज्यूले यातायात क्षेत्रको सिन्डिकेट हटाएँ भनेर बारम्बार भन्दै आउनु भएको छ । सिन्डिकेट हटेको भए काठमाडौंबाट काँकडभिट्टा जाने भाडामा किन ५० रुपैयाँसम्म सस्तो भएन ?”
यातायात क्षेत्रको सिन्डिकेट नहटेको दाबी गर्दै सांसद लिङ्देनले मन्त्रालयले सिन्डिकेट हट्यो भन्नेमात्रै गरेको बताए ।
“मन्त्रीज्यूले सिन्डिकेट हट्यो भनेर मान्न सक्नुहुन्छ तर वास्वममा सिन्डिकेट हटेको छैन,” लिङ्देनले थपे, “सिन्डिकेट हटेको भए सर्वसाधारणले किनेको गाडी समितिको स्वीकृतिबिना चलाउन चलाउन अझै पनि पाइरहेका छैनन्, खोइ कहाँ हट्यो सिन्डिकेट ?”
जवाफमा मन्त्री महासेठले यही साउन १ गतेबाट यातायात संघ, समितिको नवीकरण नगरिएको र देशभरका करिब २ सय ५० यातायात संघ, समितिका बैंकखाता रोक्का गरिएको जिकिर गरे ।
“व्यवसायीको खातामा रहेको रकम राष्ट्रियकरण गर्ने भन्ने नै अहिलेको मुख्य अप्ठ््यारो हो, यस विषयमा वैशाखमा गठित ७ सदस्यीय सिन्डिकेट कार्यदलले प्रतिवेदन तयार गरिसकेको छ, त्यसको अध्ययनपछि मन्त्रिपरिषद बैठकको निर्णयबाट यसको टुङ्गो लगाइने छ,” मन्त्री महासेठले जवाफमा भने ।

सांसद लिङ्देनले बिर्तामोडबाट सदरमुकाम भद्रपुर जोड्ने सडकको स्तारोन्नति चाँडोभन्दा चाँडो सम्पन्न गरिसक्न मन्त्री महासेठको ध्यानाकर्षण गराए । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट झापाका दोमुखा, जामुनखाडी, अर्जुनधारा, इलामको कन्याम, माइपोखरी, सन्दकपुर, पाँचथरको फिदिम र ताप्लेजुङ्गमा अवस्थित पाथिभरालगायतका पर्यटकीयस्थल जोड्ने मुख्य सडकको दयनीय अवस्थाले आवत–जावत कष्टकर बनेको छ ।
“भद्रपुर–बिर्तामोड सडक र बिर्तामोड–राजगढहुँदै दक्षिणी सीमा जोड्ने सडकको खराब अवस्थाका कारण त्यहाँका जनताले निक्कै सास्ती खेप्नुपरेको छ । झापाका यी दुइटा सडक तत्काल मर्मतका लागि मन्त्रीज्यूले पहल गरिदिनुपर्यो,” उनले भने ।
यसका साथै लिङ्देनले काठमाडौं तराई जोड्ने फास्ट ट्रयाकको जिरोपोइन्ट ललितपुरको खोकना, बुङ्मतीलाई बनाउने कि फर्सीडोललाई बनाउने भन्नेमा स्थानीय अझै असतुष्ट रहेको बताए ।
“फास्ट ट्रयाक निर्माण गर्दा ललितपुरको त्यस क्षेत्रमा रहेका हिन्दु, बौद्ध र किरात धर्मालम्बीको सांस्कृतिक धरोहरहरु नमासी उनीहरुलाई उचित मुआब्जा दिएर स्थानान्तरण गराउनु उचित हुनेछ,” लिङ्देनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org