ताजा समाचार

प्रियंकाको रक्षाबन्धनकै दिन चित्कारः निर्मलाले न्याय पाएको भए मेरो भाइले ज्यान गुमाउनुपर्ने थिएन…

महेन्द्रनगर ११,भदाै ।  भीमदत्त नगरपालिका–१८ की प्रियंका खुना र पूजा खुना आइतबार बिहान भाइ सन्नीको शव हेरेर टोलाइरहेका थिए। शुक्रबार बेलुकी प्रहरीको गोलीबाट मारिएका सन्नीको शव तीन दिनदेखि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । महेन्द्रनगरमा जारी कफ्र्युका कारण घरघरपरिवारले शव हेर्न पाएका थिएनन्। आइतबार बिहानै पाँच घन्टाका लागि कफ्र्यु खुकुलो पारिएका बेला प्रियंका र पूजा दिदीबहिनी रक्षाबन्धनकै दिन भाइको शव मुसार्दै रोए।

‘रक्षाबन्धनमा भाइलाई राखी बाँधिदिने योजनामा थिएँ,’ जेठी दिदी प्रियंकाले भनिन्, ‘तर, रक्षाबन्धनकै दिन भाइको शव देख्नुप-यो।’ भाइलाई रक्षाबन्धन बाँधेर मिठोमसिनो खुवाउने सपना अब कहिल्यै पूरा नहुने कान्छी दिदी पूजाले बताइन्।

आउनै लागेको रक्षाबन्धनमा दिदी बहिनीका लागि भनेर काम गरेबापतको पारिश्रमिक लिन बजार गएको भाइले गोली खानुपरेको पूजाको भनाइ छ। उनले भनिन्, ‘यस्तो दिन कसैको पनि नआओस्।’ गाउँभरि सबै दाजुभाइको हातमा राखीको डोरी देख्दा आफ्नो भाइले पनि रहर गरेर पारिश्रमिक माग्न गएको झलझली याद आइरहेको उनले बताइन्। पूजाले भनिन्, ‘मेरो भाइलाई सहिद मात्रै घोषणा गरेर हुन्न ।’ निर्दोष भाइलाई प्रहरीले गोली हानेर प्रहरीले मारेको उनले बताइन्।

मजदुरी गरेको पैसा लिन ठेकेदारकहाँ गएर घर फर्कंदै गरेको भाइमाथि गोली हान्नु जायज नभएको दिदी प्रियंकाले बताइन्। उनले भनिन्, ‘निर्मला पन्तका परिवारले समयमै न्याय पाएको भए मेरो भाइले ज्यान गुमाउनुपर्ने थिएन।’

चाडपर्वकै दिन दिदीभाइ रमाइलो गर्लान् भनेर आफूले ज्यालाबापतको पैसा माग्न छोरा सन्नीलाई ठेकेदारकहाँ पठाएको बुबा वीरबहादुरले बताए। उनले भने, ‘छोरालाई सदाका लागि बिदा गरियो, उसका दिदीहरूलाई माइतीमा आँसुको उपहार दिनुप-यो, योभन्दा दुःखको क्षण मेरा लागि कहिल्यै आउने छैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org