ताजा समाचार

अब कंसाकार के गर्छन् ? एनएसीको कार्यकारी अध्यक्षमा मदन खरेल ल्याउन चालिँदै भित्रि चाल

काठमाडाैँ १८,भदाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा झापाका मदन खरेललाई नियुक्तीको तयारी गरेका छन्।

निगममा कार्यकारी भूमिकासहित प्रवन्ध निर्देशक सुगतरत्न कंसाकार कार्यरत रहेकै अवस्थामा मन्त्री अधिकारीले खरेललाई कार्यकारी अध्यक्ष बनाउने तयारी अघि बढाएका हुन्। यसअघि खुला प्रतिस्पर्धाबाट निगमको प्रवन्ध निर्देशकमा नियुक्तभएपनि बीचमै राजीनामा गरेर हिँडेका खरेललाई माथिल्लो पदसहित फेरि निगममा फर्काउने तयारी थालिएको पर्यटन मन्त्रालयका उच्च अधिकारीले जानकारी दिए। ‘नियमित प्रक्रियाबाट यो निर्णय हुँदैन, माथिबाट नियुक्त गर्ने तयारी अघि बढिरहेको छ,’ मन्त्रालयका उच्च अधिकारीले भने।

पर्यटनमन्त्री अधिकारीको ठाडो प्रस्तावमा खरेललाई कार्यकारी अध्यक्ष बनाउने गरी तयारी अघि बढिरहेको उच्च स्रोतले दावी गरेको छ। ‘मन्त्रालयबाट प्रस्ताव गएको र त्यो प्रस्ताव मन्त्रिपरिषदमा दर्ता भएको भन्ने कुरा सत्य होइन,’ स्रोतले भन्यो, ‘नियुक्ती भइसकेपछि मात्रै मन्त्रालय भित्रका कर्मचारीले थाहा पाउने संभावना छ।’

प्रतिस्पर्धाबाट प्रवन्ध निर्देशक बनेपनि बीचमै छाडेर हिँडेका खरेललाई फेरि किन ल्याउन खोजियो भन्ने तथ्य अहिलेसम्म बाहिर आएको छैन। यद्यपि, मन्त्री अधिकारी र निगमका प्रवन्ध निर्देशक चिसो सम्बन्धका कारण कंसाकारलाई अफ्ठ्यारोमा पार्ने गरी  कार्यकारी अध्यक्षको नियुक्तीको तयारी अघि बढेको स्रोतले जनाएको छ।

‘महाप्रबन्धकको माथिमसम्मको नेक्सस् र आफूलाई नटेरेको मन्त्रीको बुझाईले यो परिस्थिती सिर्जना भएको हुन सक्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘खरेल पनि निगम छाडेर हिँडेका हुन्, यस्तो अवस्थामा कंसाकारलाई कमजोर बनाउने अस्त्रका रुपमा उहाँको नाम आएको हुन सक्छ।’खरेललाई कार्यकारी अध्यक्ष बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री अधिकारीलाई ‘ग्रिन सिग्नल’ दिइसकेको स्रोतको दावी छ। ‘मन्त्रीको मात्रै रुचीका कारण यो नभइरहेको पनि हुन सक्छ,’ एक अधिकारीले भने, ‘यसबारेमा प्रधानमन्त्रीले पनि सहमति दिइसकेको बुझ्न सकिन्छ।’

तत्कालीन् नेकपा एमालेको कोटाबाट पर्यटन मन्त्री बनेका कृपासुर शेर्पाको पालामा कंसाकारलाई २०७१ जेठ १४ गते ४ वर्षका लागि निगमको महाप्रबन्धक पदमा नियुक्ती दिइएको थियो। ०७० चैतमा खरेलले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त स्थानमा निगमका पूर्व कार्यकारी अध्यक्ष कंसाकार महाप्रबन्धक भएका थिए।

नेपाल वायुसेवा निगम ऐन २०१९ मा निगममा कार्यकारी अध्यक्ष वा प्रबन्धक रहन सक्ने व्यवस्था छ। ऐनको व्यवस्थाअनुसार सञ्चालक समितिको सदस्यमध्येबाट वा योग्यता पुगेका व्यक्तिलाई कार्यकारी अध्यक्ष तथा उपाध्यक्ष बनाउन सक्ने व्यवस्था ऐनमा छ। ‘कार्यकारी भूमिकासम्बन्धि ऐनमा भएको व्यवस्थालाई हेर्दा कार्यकारी अध्यक्ष र महाप्रबन्धक दुवै रहन सक्छन्,’ निगम सम्बद्ध एक अधिकारीले भने, ‘तर अहिलेको प्रस्ताव सहज नदेखिएकाले दुवैजना रहनु हुन्छ जस्तो देखिँदैन।’

निगमले हालै मात्रै दुईवटा ‘वाइड बडी’ जहाज भित्र्याएर नियमित उडान थालेको छ। अन्तर्राष्ट्रियस्तर र आन्तरिक बजारमा पनि तीव्र प्रतिस्पर्धाको सामान गरिरहेको निगमको नेतृत्वमा हुन सक्ने संभावित परिवर्तनले निगमको छवि र व्यापारमा नै प्रभावित पार्ने जानकारहरु बताउँछन्। ‘अहिलेको समय भनेको प्रतिस्पर्धात्मक बजारमा निगमलाई बलियो देखाउने हो, तर सरकारको निर्णयले निगमको विकासमा बाधा पुर्याकउन सक्छ,’ निगमको उच्च व्यवस्थापनमा काम गरिसकेका एक पूर्व कर्मचारीले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org