ताजा समाचार

व्यावसायी को सर्तैसर्त विच भदाै २४ देखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाडाैँ  २०,भदाै   यातायात व्यवसायीका विभिन्न अडानले दसैंको अग्रिम बुकिङ खोल्न चुनौती देखिएको छ । सरकारले गएको जेठमा देशभरका करिब ४ सय यातायात संघ, समितिको बैंक खाता रोकेपछि करिब २५ हजार कर्मचारीले ३ महिनादेखि तलब पाउन नसकेको भन्दै यातायात व्यवसायीले दशैंको टिकट बुकिङमा समस्या रहेको बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायातका संघ, समिति खारेज गरे पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराई आउने नयाँ यातायात प्रालिलाई प्रोत्साहन गर्न नसक्दा यसपालिको दशैंमा उपत्यकाबाट बाहिरिने सवारीको संख्यामा कमी आउने बताए । यसअघि दशैंका बेलामा ४ सयदेखि ५ सय नयाँ गाडी थपिने गरेको महासचिव सिटौलाले जनाएका छन् ।
सरकारले कागजी रुपमा सिन्डिकेट हटेको बताउने गरेको तर सिन्डिकेट हटेपछि व्यवहारिक रुपमा उत्पन्न यात्रु दुर्घटना बीमा, सडकको अध्ययन र रुट परमिट वितरणजस्ता समस्यामा आवश्यक चासो नदेखाएको तथा यी विषयमा यातायात विज्ञ र व्यवसायीसँग छलफल नगरेको व्यवसायीको आरोप छ ।

गाडीमा लाग्ने इन्धन र पार्टपुर्जाको वर्षेनी मूल्यवृद्धि भए पनि यसको अनुपातमा सरकारले भाडादर नबढाएको प्रति पनि व्यवसायी असन्तुष्ट छन् । सरकारले बैंक खाता रोकेपछि ३ महिनादेखि तलब पाउन नसकेका कर्मचारीलाई कुन स्रोतबाट तलब उपलब्ध गराउने यसबारे पनि यातायात व्यवस्था विभाग र गृह मन्त्रालयले आफूहरुसँग छलफल गर्नुपर्ने व्यवसायीको अडान छ ।
दशैंको अग्रिम टिकट बुकिङ भदौ २४ बाट खुलाउने विभागले जनाए पनि आफूहरुका समस्या हल नगरी टिकट खोल्दा यात्रुलाई थप सास्ती हुनसक्ने व्यवसायीले बताएका छन् । विभागले खोल्ने जनाएको अग्रिम टिकट बुकिङका बारेमा व्यवसायीले असन्तुष्टि देखाएपछि बुधबार विभागमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभागका महानिर्देशक, यातायात व्यवसायी र उपभोक्तावादीहरुको छलफल निष्कर्षमा पुग्न नसकेको विभाग स्रोतले जनाएको छ ।
“आजको छलफलबाट कुनै निष्कर्ष आएन,” महासंघका महासचिव सरोज सिटौलाले  भने, “हाम्रा समस्याको समाधानमा सरकार गम्भीर हुनुपर्छ, चाँडै नै थप छलफल गरी अग्रिम टिकट बुकिङ चाँडै खोल्नेमा हामी सकारात्मक छौं ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org