ताजा समाचार

फुजेल काण्डमा छविलालले पाए सफाई, प्रचण्डले स्वागत गर्ने तयारी !

काठमाडौं २५,भदाै । जिल्ला अदालत चितवनको आदेशपछि फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल रिहा हुने भएका छन् । गत असार  २४ गते उनले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए ।

आइतबार जिल्ला अदालत चितवनले १३ अभियुक्तमध्ये पौडेलसहित १२ जनालाई सफाइ दिएको छ । १२ जनालाई सफाइ दिएसँगै छविलाल पौडेल  सोमबार रिहा हुने भएका हुन् ।

पौडेल जेलमुक्त हुँदा उनलाई स्वागत गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं जाने कार्यक्रम तय भएको प्रचण्ड सचिवालयले जानकारी दिएको छ । प्रचण्ड भोलि बिहान ७ बजे डिल्लीबजार कारागार जाने खुमलटार स्रोतको भनाई छ ।

२०६१ साल जेठ २४ मा गोरखाका कृष्ण अधिकारीको चितवन रत्ननगरमा रहेका आफ्ना हजुरबुवा र हजुरआमालाई भेट्न गएको बेला हत्या भएको थियो ।

छोराका हत्यारालाई कारवाही नहुँदासम्म अनशन नतोड्ने अडानमा रहेका मृतक कृष्णका बाबु नन्दप्रसाद अधिकारीको पनि अनशनका क्रममा निधन भएको छ । आमा गंगामायाले भने केही महिनाअघि मात्र अनशन तोडेकी थिइन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रले फुजेल काण्ड द्धन्द्धकालिन मु्द्दा भएकाले सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाइनुपर्ने बताउँदै आएको थियो ।

सो विषयमा हाल नयाँ शक्तिमा रहेका बाबुराम भट्टराईले समेत समान धारणा राख्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org