ताजा समाचार

तीज सामाजिक सद्भाव र एकताको प्रतीक: राष्ट्रपति

काठमाडौं २७,भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको भन्दै शुभकामना व्यक्त गरेकी छन् । उनले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गरेकी छन् ।

नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याइरहेको बताएकी छन् ।

चाडपर्वहरु मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएको उल्लेख गर्दै उनले भनेकी छन्, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मौलिक मूल्य र मान्यतासहित संस्कृति, कला, वेशभूषा, गीतसंगीतलाई संरक्षण तथा संवद्र्धन गरिरहेका हुन्छन् ।’

राष्ट्रपति भण्डारीले देशको द्रुततर आर्थिक विकास एवं सामाजिक रुपान्तरण गर्नुपर्ने आजको आवश्यकतालाई सबैले हृदयंगम गरी चाडपर्वहरु मनाउँदा मितव्ययिता अपनाउन आवश्यक रहेको पनि उल्लेख गरेकी छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org