ताजा समाचार

बैंककबाट अवैध सुन बोकेर काठमाडौं आएका सातजना त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौं ४‌‌ असाेज। बैंककबाट अवैध सुन बोकेर काठमाडौं आएका सातजना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

विदेशबाट आउँदा ५० ग्राम सम्मको सुनका तयारी गहना ल्याउन पाउने भएपनि उनीहरुले प्रतिव्यक्ति ९९ देखि १०१ ग्रामसम्म तयारी सुनका गहना ल्याएको त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रमुख डिआईजी कमल जिसीले रातोपाटीलाई जानकारी दिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–५ स्थायी घर भएका २९ वर्षीय मनोजकुमार तामाङसहित सातजना रहेका छन् ।

पक्राउ पर्नेहरुमा आनन्दमोहन सिंह, विनोद बानियाँ, समिर तामाङ, रवि श्रेष्ठ, राजकुमार आचार्य, दीपबहादुर तामाङ र सिंहबहादुर तामाङ रहेका छन् ।

उनीहरुलाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको छुट्टाछुट्टै उडानबाट काठमाडौं आएका उनीहरुको साथबाट प्रहरीले बाला ३ थान र सिक्री ७ थान बरामद गरेको छ ।

पार्किङ एरियामा एकअर्काको सुन छुट्याउँदै गर्दा बुधबार उनीहरु पक्राउ परेका थिए । प्रहरीले उनीहरुको साथबाट ७ सय १६ ग्राम अबैध सुन बरामद गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org