ताजा समाचार

सरकारको अधिनायकवादी शैली असफल पार्न नेता,कार्यकर्तालाई सभापति देउवाको निर्देशन

काठमाडाैँ ८,असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको अधिनायकवाद उन्मुख शैलीलाई असफल बनाउन पार्टीका नेता, कार्यकर्तालाई केन्द्रित हुन निर्देशन दिनु भएको छ।

सभापति देउवाले मुलुकलाई सबै खालको अन्यायबाट मुक्त बनाउन काँग्रेस बलियो शक्तिको रुपमा स्थापित हुन जरुरी रहेको उल्लेख गर्दै राष्ट्रिय हितका लागि पार्टीको स्वार्थ अनुकूल अघि बढन पनि नेता, कार्यकर्तालाई आह्वान गरे। पार्टीको विधान संशोधन प्रारिम्भक मस्यौदामा सुझाव संकलनका लागि सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै देउवाले राष्ट्रलाई सबै खालको अन्यायबाट मुक्त गराउने कामको नेतृत्व लिने बेला पार्टीका नेता, कार्यकर्ताहरुले विगतमा कुरामा अलमलिएर बस्न नहुने पनि स्पष्ट पारे। सभापति देउवाले मुलुकका लागि अत्यन्तै राम्रो संविधान बनाउने नेतृत्व लिएको काँग्रेसले पार्टीको विधान पनि अत्यन्तै राम्रो बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

सभापति देउवाले संविधानलाई आधार बनाएर पार्टीलाई बलियो बनाउने गरी विधान संशोधन प्रस्ताव तयार पार्न पनि विधान संशोधन मस्यौदा समितिलाई सचेत गराए।

पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामाथि सोमबारबाट सुझाव संकलनको काम सुरु गरिएको हो। विधान संशोधन मस्यौदालाई अन्तिम रुप दिन काँग्रेसले प्रदेश स्तरीय छलफल सुरु गरेको हो। प्रदेशबाट आउने छलफलपछि त्यसलाई अन्तिम रुप दिने समितिका संयोजक एवम् काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

विधान संशोधन प्रारम्भिक मस्यौदामा निर्वाचन समिति, अनुशासन समिति, सक्रिय सदस्य छानवीन समितिलगायतका समितिहरु पनि प्रस्ताव गरिएको छ। समितिले तयार पारेको विधान संशोधन मस्यौंदालाई काँग्रेसको मंसीरमा आयोजना हुने महासमिति बैठकले व्यापक छलफल गरी अनुमोदन गर्नेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org