ताजा समाचार

‘स्कुल बेच्ने बालक’पूर्व बाल्यअवस्थाको कहानी हो : लेखक न्यौपाने

 

दामोदर न्यौपाने समकालिन नेपाली पत्रकारिता र प्रबन्ध लेखनमा परिचित नाम हो  । डेढ दशकदेखि पत्रकारितामा क्रियाशील न्यौपाने साना र सामान्य ठानिएका विषयलाई सरल र गहन तरिकाले उठाउँछन् । यी न्यौपानेका लेखनगत विशेषता हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेका न्यौपाने खासगरी बालबालिका, सम्पदा र सामाजिक विषयवस्तुमा दख्खल राख्छन् । उनका किताब ‘एम्बुसमा ६ वर्ष, ‘कर्म : सिकाइमा गहिरिएको खाडल’, ‘स्वर्णिम समय’ र चित्रकथा ‘ट्यालेन्ट शो’ प्रकाशित छन् । उनको अर्को किताब ‘स्कुल बेच्ने बालक’ पछिल्लो समय बजारमा उपलब्ध छ ।  ‘स्कुल बेच्ने बालक’ किताबमा आधारित रहेर न्युज–नेपालका संवाददाता रमेश दवाडीले गरेको कुराकानी :   

 

‘स्कुल बेच्ने बालक’ कस्तो किताब हो ? 

यो खासगरी लालनपालन सम्बन्धी किताब हो । यसमा लालनपालनका सुक्ष्म मनोविश्लेषणात्मक र व्यवहारिक पक्षहरू समेटिएका छन् ।  लालनपालनमा यी पक्षहरूलाई छलफलमा ल्याउन, बहस चलाउन सक्नु मुख्य उद्देश्य हो ।  यसमा तपाईंहरूले छलफल, बहस चलाउन सक्नुहुन्छ ।

बालबालिका सम्बन्धी लगातार किताब लेख्नुको कारण के हो ?

  मेरा अहिलेसम्म लेखिएका चारओटा किताबमध्ये सबैजसोको मुख्य उद्देश्य भनेको ‘प्यारेटिङ’ हो । यसको अर्थ हामीले बालबालिकालाई गर्ने व्यवहार र दृष्टिकोण बदलौ भन्ने हो । जसले राम्रो व्यवहार गर्नुभयो उहाँहरू उदाहरणीय हुनुहुन्छ । उहाँहरूबाट हामीले सिक्नुपर्छ । जसले व्यवहार गर्न जान्नुभएको छैन उहाँहरूलाई सिकाउनुपर्छ । यही कारणले मेरा किताब बालबालिका केन्द्रीत हुन्छन् । भोलिको भविष्य सुरक्षित गर्न बालबालिकालाई असल बनाउनुपर्छ ।

किताबमा किन आफ्नै छोरालाई पात्र बनाउनुभएको ?  

छोरालाई पात्र बनाएको होइन । बालकलाई बनाएको हो । छोरो त हो तर ऊ बालक हो । किताब पूर्व बाल्यअवस्थाको कहानी हो । पूर्व बाल्यकालका बच्चाहरूको अध्ययन गर्न म चाहन्थें । त्यो अध्ययन गर्न सजिलो भयो । किनकी उसकै उमेरका बालबालिका मसँग घुलमिल हुन गाह्रो मान्छन् । मेरो पेसा एकातिर छ । त्यस हिसाबले म शिक्षक भएको भए आम बालबालिकाको अध्ययन गर्न सक्थेँ । म यस पहुँचमा नभएर परिवार नै सजिलो भयो ।

बालबालिकाको मनोविज्ञान बुझ्न शिक्षक नै हुनुपर्ने, चायल्ड केयरमै बस्नुपर्छ भन्ने के छ ? 

छैन । त्यही भएर मैले घरमै अध्ययन गरेँ । धेरै पात्रहरूको अध्ययन गर्न सकिएन होला । मेरो कथाले धेरै पात्र पनि माग्दैन । एक जनालाई हुर्काउने कहानी हो ।  किताब एउटा पात्रको संवेगमाथि लेखिएको हो ।  व्यवहारमाथि लेखिएको हो  । एउटाको लेख्ला त किताक ठूलो ‘भोलुम’ को भएको छ । अरू पात्र पनि थप्न थालियो भने मैले अध्ययन गर्न खोजेको पूरा नहुन सक्थ्यो । ‘स्कूलबेच्ने बालक’ एकजना बालकमाथि गरिएको अध्ययन हो  । हार्दिक पात्रसँग धेरै बालबालिकाहरूको मनोविज्ञान मिल्छ । यो पात्रलाई पढेर पाठकहरूले मेरा छोराछोरी पनि यस्तै स्वभावका छन् भन्ने अनुभूति गर्नुहुन्छ ।

‘स्कुल बेच्ने बालक’मा कस्ता पक्ष समेटिएका छन् ?

  यसमा मैले जोडतोडले उठाएको कुरा भनेको घर पहिलो पाठशाला हो  । हामी स्कूलको मात्र भर प¥यौं भने पहिलो पाठशालाको सिकाई कमजोर हुन्छ । स्कूलमा बिताउने भनेको ४/५ घण्टा हो ।  त्यसभन्दा बाहेक बालबलिकाले घरमै विताउँछन् । घरमा कसरी सिकाउने, के सिकाउने भन्नेमा हामी अलमलमा छौँ । घरमा पनि व्यवस्थित तरिकाले सिकाउनुपर्छ भन्ने चेतना हामीमा छैन । घरमा के सिकाउने ? संस्कार सिकाउने । व्यवहार सिकाउने । रहनसहन सिकाउने । असल कुराहरू सिकाउने । पहिला सुन्ने, सुनेपछि बुझिन्छ । बुझेपछि जे आवश्यक छ त्यही सिकाउने । बालबालिकाका जिज्ञासाहरू शान्त पार्नुहुन्छ अनि उनीहरूले मेरा कुरा सुने भने अनुभूति  गर्छन । उत्तर पाउँछन् । उत्तरले ज्ञानको दायरा बढ्दै जान्छ । बोल्नेकला बढ्दै जान्छ । आत्मविश्वासले हो संसार हल्लाउने ।

किताबको सन्देश के हो ? 

बालबालिका पूर्ण मान्छे हुन् । तर, हामी उनीहरूलाई पूर्ण ठान्दैनौँ । उनीहरूबाट सिक्न चाहँदैनौ । सिक्ने कुरा धेरै छन् । एउटा भनाई छ– हामीभन्दा बालबालिका १२ वर्ष अगाडि छन् । हामी यो कुरा ख्याल गर्दैनौ । हामी ठूलासँग जे संवेग छ सानासँग पनि त्यही संवेग छ । जस्तै : हामीमा दया, माया, करुणा, रिस, डाहा, भय, सुखानुभूति आदि संवेग ठूलामा छ । सानामा पनि त्यही संवेग छ । तर, चेतनाको स्तर अनुसार संवेगमा फरक छ । त्यही भएर सानाका कुरा सुनौँ । किताब बालबालिकाका इच्छा, आकाङ्क्षा, दया, माया, रिस, डाहा, इष्र्या जस्ता संवेगमाथिको लेखन हो ।

किताब लेखनका दुःख कस्तो हुँदो रहेछ ?

  दुःखलाई रोमाञ्चकतामा बदल्नुपर्छ । सजिलो छैन । त्यही भएर रोमाञ्चक छ । लेखनमा दुःख ठान्नुभयो भने तपाईंलाई ‘फ्रस्टेशन’ आउँछ । रोमाञ्चक ठान्नुभयो भने सिर्जनात्मक हुन्छ । यस अर्थमा किताब लेखन कार्य मेरो अर्थमा रोमाञ्चकारी काम हो ।

पाँचओटा किताब लेख्दा अफठ्यारो लागेको किताब कुन हो ? 

एम्बुसमा६ वर्ष हो ।  किन भने एक त पहिलो कृति थियो ।  पहिलो भन्ने वित्तिकै डर हुन्छ । कस्तो, के होला भन्ने हुन्छ ।  एम्बुसमा६ वर्ष को विषय नै कठिन थियो ।  यसको विषय एक कालखण्डको दस्तावेज हो । त्यो पीडा लेखन थियो । लेख्न कठिन थियो । त्योभन्दा पछिल्ला प्रकाशित मेरो किताब लेख्न झन गाह्रो प¥यो । किन भने पहिलो बिताबले दिएको जुन ख्याति थिया ेत्यो जोगाउन पर्ने चुनौती छ । अहिले किताब लेख्नुअघि म सोच्छु । ‘स्कूलबेच्ने बालक’ सम्म आइपुग्दा मलाई झन डर भयो । यसको पाण्डुलिपी मैले धेरै जनालाई पढ्न दिएँ । ‘‘यो झन बेजोड छ’’ भन्ने प्रतिक्रिया आएपछि म निदाउन थालेँ ।

किताब लेखनमा सन्तुष्ट हुनुहुन्छ ? 

छु । आफैँ सन्तुष्ट नभए अरूलाई सन्तुष्ट बनाउन सकिदैन । मेरा किताब जति जनाले पढ्नुभएको छ सकारात्मक प्रतिक्रिया पाएको छु  । विक्रिका हिसाबले पनि ‘वेस्ट सेलर’ भएका छन् ।

किताबै पिच्छे प्रकाशन संस्था फेर्नुभएको छ । प्रकाशकले तपाईंका किताब पुनः प्रकाशित गर्न नमानेको होकी तपाईंले नदिनु भएको ? 

यो प्रश्न मेरा प्रकाशक संस्थाहरूलाई सोध्नुभयो भने के भन्नुहुन्छ तपाईंले थाहा पाउनुहुन्छ । तर, मेरो कुरा के हो भने मेरा किताब प्रकाशित गर्न नाम चलेका प्रकाशकहरूले माग्नु भएको छ । मैले सबैलाई दिन पाएको छैन । ‘स्कूलबेच्ने बालक’ पनि  ठूला प्रकाशकहरूले माग्नुभएको थियो । सबैलाई दिन नसकिने रहेछ । एउटालाई दिनुप¥यो । जो निरन्तर सम्पर्कमा आउनुभयो, उहाँसँग काम गर्दा सजिलो हुन्छ भन्ने अनुभूति भयो अनि काम गरेँ । मेरा विगतका अन्य प्रकाशकसँग पनि मेरो राम्रो सम्बन्ध छ । आगामी दिनमा उहाँहरूसँग काम गर्न सकिन्छ । एउटा निश्चित सम्झौता गरेर काम गर्ने हो । सम्झौता छउन्जेल काम गर्ने हो । गरियो पनि । त्यो भन्दा वाहेक आफ्नो स्वतन्त्रताको कुरा हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org