ताजा समाचार

कांग्रेस नेतृ विनिता खड्काले भनिन्- सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ विनिता खड्काले राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउने उल्लेख गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै खड्काले आफूले नगरेको कसुरमा प्रश्न उठ्दा मन दुखे पनि आफ्नो निष्ठा, साथीहरूको विश्वास र देशको न्याय प्रणालीमाथि पूर्ण भरोसा रहेको उनले बताएकी छन्।

“सम्मानित अदालतले ममाथि लगाइएका कुनै प्रमाण बिनाका यस्ता आरोपहरू निराधार ठहर गरेको छ,” उनले लेखेकी छन्। उनले यस घटनाबाट ‘सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन’ भन्ने विश्वास पुनः पुष्टि भएको उल्लेख गरेकी छन्।

अप्ठ्यारो परिस्थितिमा आफूलाई साथ र समर्थन दिने अभिभावक, नेता, साथीहरू तथा न्यायप्रेमीहरूप्रति आभार व्यक्त गर्दै खड्काले आलोचकहरूप्रति पनि कुनै गुनासो नरहेको बताएकी छन्। आलोचना, प्रश्न र टिप्पणीले आफूलाई अझ परिपक्व तथा जिम्मेवार बन्न प्रेरित गरेको उनको भनाइ छ।

खड्काले भ्रम र षड्यन्त्र क्षणिक हुने तथा सत्यको उज्यालो सधैँ कायम रहने विश्वास व्यक्त गर्दै उक्त घटनाले आफूलाई कमजोर नभई अझ बलियो बनाएको उल्लेख गरेकी छन्। आफूमाथि विश्वास गर्नेहरूको भरोसालाई कायम राख्दै आगामी दिनमा अझ बढी निष्ठा र प्रतिबद्धताका साथ सेवामा समर्पित रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरेकी छन्।

विनीता खड्काले सामाजिक सञ्जाल फेसबुकमा लेखेको लेखेको जस्ताको तस्तै:

“राजनीति र जीवनमा कहिलेकाहीँ नसोचेका परीक्षाहरू आउँदा रहेछन्।
आफूले नगरेको कसुरमा प्रश्न उठ्दा मन पक्कै कुँडियो, तर मलाई आफ्नो निष्ठा, प्रिय साथीहरूको विश्वास र देशको न्याय प्रणालीमाथि पूर्ण भरोसा थियो।

सम्मानित अदालतले ममाथि लगाइएका कुनै प्रमाण बिनाका यस्ता आरोपहरू निराधार ठहर गरेको छ। “सत्य अलिक ढिलो होला, तर पराजित हुँदैन” भन्ने कुरा पुनः पुष्टि भएको छ।

अप्ठ्यारो घडीमा मेरो साथमा उभिनुहुने सम्पूर्ण अभिभावक, नेताहरू, साथीहरू र न्यायप्रेमी मनहरूप्रति शब्दले आभार व्यक्त गर्न सक्दिनँ।

साथै, यस दौरान निन्दा, शंका र टिप्पणी गर्नुहुने आलोचकहरूप्रति पनि मेरो कुनै गुनासो छैन, तपाईँका प्रश्नहरूले मलाई अझ परिपक्व र जिम्मेवार बन्ने प्रेरणा दिएका छन्।

भ्रम र षड्यन्त्रहरू क्षणिक हुन्, सत्यको उज्यालो सधैँ अजर रहन्छ। यो घटनाले मलाई कमजोर होइन, अझ बलियो बनाएको छ। तपाईँहरूको विश्वासलाई सिरानी हालेर अझ बढी निष्ठाका साथ सेवामा समर्पित रहनेछु।”

नेतृ खड्कालाई छाड्न आदेश दिइसकेको छ । अदालतले उनलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काले सोमबार उनलाई छाड्ने आदेश दिए। प्रहरीले उनलाई म्याद थप गर्न पेस गरेको सुनुवाइमा जिल्ला अदालतले यस्तो आदेश गरेको हो ।

जिल्ला अदालतको आदेशपछि उनलाई थुना बाहिर राखेर अनुसन्धान गर्नुपर्ने छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीले उनीसहित पाँच जनालाई संगठित अपराधमा अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाका बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ पनि पक्राउ परेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org