ताजा समाचार

राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन

नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी र चुनौति सँगसँगै देखा परे । मेरो जागिरे जीवनको यो एउटा नयाँ आयाम थियो, मलाई राज्यले विश्वास गरेर दिएको एउटा महत्वपूर्ण जिम्मेवारी थियो । यस प्रकारको जिम्मेवारी नेपाललाई विदेशी भूमिमा परिचित गराउने र नेपालको विकासमा मित्र राष्ट्र र त्यहाँका जनताहरुलाई सँगै लैजान पहल गर्ने गहन जिम्मेवारी थियो ।

ल्हासाको जिम्मेवारी अन्यत्रको भन्दा यस अर्थमा फरक थियो कि त्यहाँ नेपालको कुटनीतिक संबन्ध स्थापित गर्ने निकायको स्थापना सत्रौं शताब्दीमा नै प्रताप मल्लका पालामा सन् १६४२ मा न्यू नायब रेसिडेन्सीका रुपमा भएको थियो । ल्हासाको त्यो कुटनीतिक निकाय नेपालको मात्र हैन, सिङ्गै दक्षिण एशियाको पहिलो कुटनीतिक निकाय हो । बाइसे चौबिसे राज्यहरुमा छरिएर रहेको नेपाललाई एकताको सुत्रमा बाँधे पछि पनि यसले निरन्तरता पाएको भेटिन्छ । सन् १८५६ मा तात्कालीन श्री ३ जङ्गबहादुर राणाले ल्हासामा नेपाली वकिल कार्यालय स्थापना गर्न कर्णेल जुद्धबिक्रम थापालाई खटाई पठाएको कागजात फेला परेको छ । त्यसपछि र नेपाल र चीन बीच आधिकारिक रुपमा कुटनीतिक संबन्ध स्थापना भएको दिन सन् १९५५ अगष्ट १ सम्ममा ल्हासाको वकिल कार्यालयमा १९ जना कार्यालय प्रमुखहरुले सेवा गरिसकेको पाइन्छ । यसरी हेर्दा नेपाल र चीन बीच राज्य स्तरको संबन्धको इतिहास तीन सय वर्षभन्दा अगाडिदेखि नै कुनै न कुनै रुपमा रहेको पाइन्छ ।

नेपाल र चीनबीच कुटनीतिक संबन्ध स्थापना भइसकेपछि सन् १९५६ मा भने त्यहाँ नेपाली महावाणिज्यदूतावासको स्थापना भयो, जहाँ पहिलो महावाणिज्यदूतका रुपमा उपेन्द्रबहादुर बस्नेत तोकिनु भएको थियो । एक्काइसौं महावाणिज्यदूतका रुपमा तोकिएको मैले जिम्मेवारी बहन गरिरहेको यस महावाणिज्यदूतावासमा यस अघि नयनबहादुर खत्री, डोरबहादुर बिष्ट र लिलामणि पौडेल जस्ता विशिष्ट व्यक्तिहरुले सेवा गरिसक्नु भएको जानकारी पाएपछि अझ मैले आफ्नो जिम्मेवारीलाई ती विशिष्ट व्यक्तित्वहरुको पदचाप र नेपाल सरकारको चाहना बमोजिम बहन गर्न सक्छु कि सक्दिनँ होला भन्ने द्विविधा समेत सिर्जना हुन पुग्यो । बिस्तारै मैले आफूलाई तयार गर्न थालें । त्यस्तो ऐतिहासिक महत्वको निकायमा जिम्मेवारी पाएकोमा गौरव महशुस गर्न थालें र चीन सरकारबाट एक्जिक्वाटर प्राप्त गरेपछि सन् २०२४ को नोभेम्बर १९ देखि महावाणिज्यदूतका रुपमा कार्य गरिरहेको छु । यसबीचमा मैले आफ्नो क्षमताले भ्याएसम्म नेपाल र नेपालीको हितकालागि आफूलाई पूर्ण रुपमा परिचालित गरेको छु । म विश्वस्त छु, मलाई राज्यले सुम्पिएको जिम्मेवारी पूरा गर्ने कुरामा कुनै कमजोरी रहने छैन ।

महावाणिज्यदूतका रुपमा मैले जिम्मेवारी बहन गरिसकेपछि ल्हासामा भएका कार्यक्रमहरु मध्ये हालसम्मको सबैभन्दा ठूलो कार्यक्रम सिचाङ स्वायत्त क्षेत्रको सरकारले आयोजना गरेको स्वायत्त क्षेत्र घोषणाको ६० औं वार्षिकोत्सवको यही कार्यक्रम थियो । सन् १९६५ को सेप्टेम्बर ९ मा तिब्बत (हालको सिचाङ) जनवादी गणतन्त्र चीनको अभिन्न अङ्गका रुपमा स्वायत्त क्षेत्र घोषणा भएको यस वर्ष सन् २०२५ मा ६० वर्ष भएको सन्दर्भ पारेर सिचाङ सरकारले यस वर्ष विविध कार्यक्रमहरु गरिरहेको छ ।

यसै सिलसिलामा अगष्ट २१ मा पोताला दरवार स्क्वायर अगाडि निर्मित विशेष मञ्चमा आयोजित विशेष समारोहमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति, चीनको केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम् चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीका महासचिव महामहिम सी चिनफिङ प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । विश्वकै शक्तिशाली राजनैतिक नेता तथा दोस्रो ठूलो अर्थतन्त्र भएको शक्तिशाली राष्ट्रका राष्ट्रपति प्रमुख अतिथिका रुपमा आसीन मञ्चमा ल्हासामा रहेको एक मात्र कुटनीतिक नियोगको प्रमुखका हिसाबले अतिथिका रुपमा आफू पनि मञ्चासीन हुन पाउँदा म हर्षविभोर भएँ । मञ्चासीन हुने कुटनीतिज्ञ म एक्लो थिएँ भने विदेशी नागरिकका रुपमा पनि म बाहेक मेरी अर्धाङ्गिनी बिमला सहित हामी दुई जना मात्र रहेछौं । मञ्चमा चीन जस्तो शक्तिशाली राष्ट्रका राष्ट्राध्यक्ष एवम् मन्त्री भन्दा माथिको हैंसियतका पदाधिकारीहरु मात्र रहेको जानकारी दोभाषे याङले गराउँदा त मैले आफूलाई लिलिपुट झैं महशुस गरें ।

हाम्रोतिर यस प्रकारका विशेष कार्यक्रममा मन्तव्य राख्ने होडबाजी नै चल्छ । प्रमुख अतिथि र दर्जनौंका संख्यामा रहेका अन्य अतिथिहरुले घण्टौंसम्म पट्यारलाग्दो भाषण गर्ने र दर्शक, स्रोताले निरस भई चुपचाप सुन्नु पर्ने अनुभव भएको मेरा लागि सिचाङ स्वायत्त क्षेत्र स्थापनाको ६० औं वार्षिकोत्सव मनाउन आयोजना गरिएको विशेष समारोह साँच्चै विशेष भयो । कार्यक्रमलाई प्रमुख अतिथिले सम्बोधन गर्नु भएन, वार्षिकोत्सवका अवसरमा वहाँले सिचाङको विकासलाई महत्व दिएर अभिव्यक्त वहाँको भनाइ ‘Jointly building a community for the Chinese nation, writing a new chapter for a beautiful Xizang’ लेखिएको शीलालेख कार्यक्रममा बेइजिङबाट आएको टोलीका अर्का बरिष्ठ सदस्य, चिनियाँ जनताको राजनैतिक परामर्शदाता सम्मेलन राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङले सिचाङका पार्टी सचिव वाङ जुनचेङलाई हस्तान्तरण गर्नु भएको थियो । त्यहाँ हस्तान्तरण गरिएको उक्त शीलालेखमा उल्लिखित भाषा र अभिव्यक्त भावना आफैंमा कुनै पनि मोटो पुस्तकभन्दा कम थिएन, एउटा वाक्यले सिङगो सिचाङको सुन्दर भविष्यको प्रतिनिधित्व गरेको महशुस भयो । कार्यक्रममा  ६० औं वार्षिकोत्सवका अवसरमा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति, राष्ट्रिय जन कांग्रेस, राजनैतिक परामर्शदाता सम्मेलन राष्ट्रिय समिति तथा केन्द्रीय सैनिक आयोगका तर्फबाट पठाइएको शुभकामना राज्य परिषदका उपाध्यक्ष एवम् राजनैतिक ब्युरोका सदस्य चाङ कुओकिङले बाचन गर्नु भएको थियो । कार्यक्रमलाई वाङ हुनिङ, वाङ चुनचेङ र तिब्बतका जनताहरुको प्रतिनिधित्व गर्दै पार्टीको ल्हासा चेङगुअका पूर्व प्रमुख चोमा रेन्चेन गरी तीन जनाले मात्र संबोधन गर्नु भएको थियो । वहाँहरु तीन जनाकै लिखित मन्तब्य संक्षिप्त रहेको थियो । औपचारिक कार्यक्रमसँगै चिनियाँ सेना र प्रहरीले विशेष परेड प्रदर्शन गरेका थिए भने सिचाङका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी विशेष सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । यस क्षेत्रका जनताहरुको जीवनस्तरसँग संबन्धित पक्षहरुलाई प्रदर्शित गरिएको उक्त झाँकीमा कैलाश पर्वत, याक, डुंगा जस्ता विविध सामग्रीका आकृतिहरु पनि प्रदर्शित गरिएको थियो । मन्तब्य, परेड र झाँकी सबै पूरा हुँदा लगभग २ घण्टा मात्र भएको थियो । छोटो, व्यवस्थित, मर्यादित, अनुशासित र चुस्त हिसावले सञ्चालित उक्त कार्यक्रम कति चाँडो सकिए झैं भयो, समय बितेको पत्तै भएन । केन्द्रीय सरकारबाट आएका ५ दर्जन पदाधिकारी र सबै प्रदेशका मन्त्रीस्तरीय प्रतिनिधि, ल्हासा बाहिरका एक हजार पाहुना सहित स्थानीय अधिकारी र सर्वसाधारण गरी २० हजारको उपस्थिति रहेको उक्त समारोहमा हजारौं कलाकारहरुले आफ्नो कला प्रदर्शित गरेका थिए । कार्यक्रमको अर्को घतलाग्दो पक्ष मञ्चको सज्जा र प्रमुख अतिथिको आसन व्यवस्थापन थियो । एउटा ऐतिहासिक कार्यक्रमकालागि तय गरिएको उक्त मञ्च मनमोहक थियो भने प्रमुख अतिथि राष्ट्रपति सीलाई समेत अन्य अतिथिहरु जस्तै सामान्य कुर्सीमा मञ्चको मध्य भागमा आसनग्रहण गराइएको थियो ।

यस अघि अघिल्लो दिन राष्ट्रपति सिले सिचाङका अधिकारीहरुसँग भेट गरी यहाँको विकास र समृद्धिका विविध पक्षहरुमा छलफल गर्नु भएको थियो । भेटका अवसरमा राष्ट्रपतिले सबैले निरन्तर रुपमा एकताबद्ध भएर सबै मिलेर आधुनिक चिनियाँ शैलीको सुन्दर सिचाङ निर्माण गर्न आह्वान गर्नुभएको थियो । सो कार्यक्रममा चिनियाँ अधिकारीहरुले राष्ट्रपति सीसमक्ष सिचाङको विकासका लागि भइरहेका प्रयास र तिनको कार्यान्वयनको अवस्था बारे प्रस्तुत गरेका थिए ।

मैले राष्ट्राध्यक्ष सीसँग सान्निध्यमा बिताएका दुई दिनका करिब साढे तीन घण्टा मेरालागि सिङ्गो जीवनको सिकाइको इतिहासका रुपमा बितेको महशुस गरें । त्यहीबीच मैले सन् १९६५ मा स्वायत्त क्षेत्रका रुपमा चीनको अभिन्न अङ्ग भए यता सिचाङले विकासमा प्राप्त गरेका उपलब्धिहरु सिनेमाको रिल झैं घुम्न थाले । त्यहाँका नागरिकहरुले हिजो बिताएका कष्टसाध्य जीवनबाट आजको सुविधा सम्पन्न अवस्थासम्म आइपुग्लाका दृश्यहरु देखिए । उच्च हिमाली पठारमा भएको भौतिक विकासका उदाहरणका रुपमा चिल्ला सडकहरु, स्वर्ग जाने रेलमार्गका नामले चिनिने तीब्र गतिको रेल, गगनचुम्बी महलहरु ठड्याएर उभिएका शहरहरु, करोडौं खर्च र अविरल मेहनत गरेर कायम गरिएको हरियाली र हाँसो र सद्भाव भरिएको तिब्बती दाजुभाइ दिदीबहिनीहरुका निश्चल अनुहार क्रमशः देखिंदै आए । स्वायत्त क्षेत्रका रुपमा स्थापित भएपछिका ६ दशकमा यहाँको विकासले अभूतपूर्व र आश्चर्यजनक फड्को मारेको छ । कुल गार्हस्थ उत्पादन ३२७ मिलियन युआनबाट २७६.५ बिलियन पुगी १५४ गुणा बृद्धि भएको छ । एक लाख बीस हजार किलोमिटर कालोपत्रे सडक निर्माण भएको छ । १८३ रेलवे सञ्जालले सिचाङलाई विश्वसँग जोड्न सफल भएको छ । हजारौं स्काइवे निर्माण भएका छन् ।

सगरमाथा आधारशिविरसम्म टेलिकम्युनिकेसनको फाइभ जी सेवा पुगेको छ । ग्रामीण र शहरी क्षेत्रको प्रतिव्यक्ति आय क्रमशः १०८ र ४५६ युआनबाट २१,५७८ र ५५,४४४ पुगेको छ । हाल त्यहाँ ३६१८ विद्यालय, ९,७०,००० विद्यार्थी अध्ययनरत रहेका छन् भने ७२३१ स्वास्थ्य केन्द्रहरुबाट स्वास्थ्य सेवा पुगेको छ । औसत आयु दोब्बर भएको छ । विद्युत, खानेपानी, सिंचाइ जस्ता क्षेत्रमा जादुगरी विकास भएको छ । वातावरणको क्षेत्रमा उल्लेख्य सुधार भएको छ । नदीनाला र तालतलैयाहरु सफा र सुन्दर भएका छन् । सुरक्षा अवस्था राम्रो भएको छ । यी सबै सुधारका उपलब्धिहरु मैले त्यही समयमा देखें र संझिएँ । मैले यसबीच चीनमा भएको भौतिक पूर्वाधारको तीब्र विकास, वातावरणीय संरक्षण र ऐतिहासिक एवम् पुरातात्विक सम्पदाहरुको यथोचित संरक्षण र सम्बर्धनका साथै तिब्बती जनताहरुको जीवनस्तरमा आएको परिवर्तनलाई एकै ठाउँमा बसेर अनुभूत गर्ने मौका पाएँ ।

मूल समारोह हुनु भन्दा धेरै अगाडिदेखि सो कार्यक्रममा चीनका उच्च स्तरीय नेता प्रमुख अतिथिका रुपमा आउने भनिए पनि सिचाङ सरकार र पार्टीका उच्च नेतृत्व बाहेक अरुलाई राष्ट्रपति सी नै आउनु हुन्छ भन्ने जानकारी थिएन । अर्कोतिर मूल कार्यक्रम हुने मितिका विषयमा पनि सबै अधिकारीहरुमा जानकारी थिएन । राष्ट्रपति सी मूल कार्यक्रमको अघिल्लो दिन अगष्ट २० मा चाइना एयरको विशेष उडानबाट ल्हासा गोङ्गार एयरपोर्टमा अवतरण गर्नु भयो । आफ्ना प्रिय नेताको ल्हासा आगमनमा स्वागत गर्न सयौं सरकारी अधिकारीहरुका साथै हजारौं जनसमुदाय एयरपोर्टमा उपस्थित थिए । उनीहरुले सिचाङका ल्हासा, सिगात्से, सान्नान, नाक्चू, लिञ्ची, आली र चाम्दो  जस्ता सबै प्रिफेक्चर तहका क्षेत्रहरुको संस्कृति झल्कने झाँकी प्रदर्शन गर्दै सीको स्वागत गरेका थिए । राष्ट्रपति सीले उपस्थित जनसमुदायलाई विमानबाट ओर्लंदा एवम् एयरपोर्टबाट ल्हासा आउने क्रममा हात हल्लाएर अभिवादन गर्नुभएको र उपस्थित जनताहरुले हर्षोल्लाष प्रकट गरेको दृश्य स्मरणयोग्य थियो । अझ राष्ट्रपति सीले मिनीबसमा यात्रा गर्नु र वहाँको गाडीमा कुनै विशेष संकेत समेत नहुनुले वहाँको सादगी झल्काएको थियो । हाम्रोमा मन्त्री भन्दा माथिका पदाधिकारीहरुले झण्डावाल गाडी प्रयोग गर्ने गरिएकोमा यहाँ चीनका राष्ट्रपति, केन्द्रीय सरकारका दर्जनौं मन्त्रीहरु, प्रदेशका मन्त्रीहरु लगायत हजारौं विशिष्ट व्यक्तिहरु सवार हुँदा पनि कुनै झण्डावाल गाडी देखिएनन् । कार्यक्रममा सरीक हुन एक हजारभन्दा बढी पाहुनाहरु बेइजिङ र चीनका अन्य स्थानबाट आएको जानकारी आयोजकहरुले गराएका थिए । स्वयम् राष्ट्रपतिज्यू नै कुन गाडीमा चढ्नु भयो भन्ने समेत धेरैले भेउ पाउन सकेनन् ।

राष्ट्रपति सी अगष्ट २० मा सिचाङ ग्राण्ड थिएटरमा आयोजित गला सांस्कृतिक महोत्सवको प्रमुख अतिथिका रुपमा कार्यक्रम हलमा प्रवेश गर्दा तालीको गड्गडाहटले स्वागत गरिएको थियो । वहाँले आफ्नो सदासर्वदाको स्वभाव अनुसार नै शान्त र सौम्य तवरले उपस्थित समुदायलाई अभिवादन गर्नुभयो । उक्त सांस्कृतिक कार्यक्रममा समेत ल्हासामा रहेको एक मात्र विदेशी नियोगको प्रमुखका हिसावले मैले उपस्थिति जनाएको थिएँ । साँस्कृतिक कार्यक्रममा सिचाङका सबै क्षेत्र र समुदायका मानिसहरुले अपनाएको जीवनशैलीलाई प्रस्तुत गरिएको थियो भने त्यसमा पुराना भन्दा पुराना सामाजिक सांस्कृतिक परम्परादेखि अत्याधुनिक विकासलाई समेटिएको थियो । दुबै दिनका कार्यक्रमहरुमा उपस्थित जनसमुदायका मुहारमा आफ्नो देश, सरकार र नेताहरुप्रति अगाध श्रद्धा र विश्वास झल्किएको थियो । त्यस बेला मैले आफू भने माखो नमार्ने उल्टै नेताहरुलाई सत्तोसराप गर्ने हामी नेपालीहरुमा कायम रहेको रोग संझेर तरक्क आँशु झारें भनें डिभी र पिआरका लागि मरिहत्ते गर्ने कथित ठूलाहरुको अनुहार र कहिल्यै नेपाल नदेखे पनि आँखाभरि नेपाल राखेर नेपाली राहदानी सिरानीमा राखी मृत्यु पर्खिरहेका ल्हासा निवासी आदरणीय जेष्ठ नागरिकहरुका स्वाभिमानी र देशभक्त मुहार एकै पटक देखें ।

स्वायत्त क्षेत्र स्थापनाको अवसरमा भएको राष्ट्राध्यक्षको भ्रमणका बेला ल्हासा शहर बेहुली झैं सिंगारिएको थियो । सडक सदा झैं सुन्दर र सफा थिए भने सिङ्गै शहर धपक्क बलेको थियो । सडकमा रङ्गी बिरङ्गी फूलहरु सजाइएका थिए भने राता बत्तीहरुले सडक र गल्लीहरु झलमल्ल थिए । आकाशमा इन्द्रेणीका झैं रङ्गहरु झल्झलाइ रहेका थिए भने आतीशवाजीले शहरलाई थप सुन्दर बनाएको देखिन्थ्यो । शहरका मुख्य क्षेत्रहरु ध्वजापताकाले सजिएका थिए । एयरपोर्टदेखि शहरसम्मको सडक सिंगारिएको थियो । लाग्थ्यो, सिङ्गै ल्हासा शहर कुनै सिद्धहस्त कलाकारले कुंदेको जादुगरी मूर्तिका रुपमा मुस्कुराइ रहेको थियो । आकाशबाट झरिरहेको सिमसिम पानी, लाग्दै छाड्दै गरेको लजालु बादल र त्यसबीच बेलाबेलामा झुल्किने घामले आफ्ना विशिष्ट पाहुनाहरुलाई अन्तरहृदयदेखि स्वागत गरे झैं लाग्दथ्यो । प्रकृति आफैं पाहुनाहरुको स्वागतमा तुल टाँगेर बसे झैं उल्लासमय वातावरण देखिन्थ्यो । यसैबीच मूल कार्यक्रम समापन हुनासाथ मैले पनि राष्ट्रपति सीलाई बिदाइका हात हल्लाएँ र एक टकले हेरिरहें मूर्तिवत् ।

निरौला ल्हासास्थित नेपाली महावाणिज्यदूत हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org